पाल्पा,३१ असोज । पाल्पाका किसानले अलैंचीको व्यावसायिक खेती गर्न थालेका छन् । पाल्पाको पूर्वी निस्दी गाउँपालिका–३ झिरुवासका पाखोबारीमा किसानले परीक्षणका रुपमा अलैंची खेती गर्दा सफल भएपछि त्यसलाई व्यावसायिक रुप दिन थालिएको हो ।
पछिल्लो समय यहाँका किसानले अलैंची खेतीमा राम्रो सम्भावना देखेपछि उत्तर मोहडा फर्किएका ओसिला बारीमा यसको व्यवसायिक खेती गरेका छन् । करिब ७० घरधुरीले अलैंची खेती गरी आम्दानी लिन थालेका छन् ।
अलैंची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अब यसलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको किसानहरुको भनाइ छ । किसानले इलामबाट विरुवा ल्याएर अलैंची खेती गुरु गरेका हुन् । अहिले प्रत्येक किसानले ७ देखि १२ रोपनी जग्गामा अलैंचीका विरुवा लगाएका छन् ।
काउले डाडा कवुलियती वनको समन्वयमा दुई वर्षअघि प्रति घर ६ सय ५० वटाका दरले विरुवा वितरण गरिएको थियो । किसानलाई यस वर्ष पनि थप ५ हजार अलैंचीका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । झिरुवास क्षेत्रमा अलैंची खेती थप विस्तार गर्न निस्दी गाउँपालिकाले पकेट क्षेत्रका रुपमा अगाडी बढाउने योजनासमेत राखेको छ ।
प्रतिक्रिया दिनुहोस्