काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गरेका थिए । उनले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता समेत गरे । प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई समेत सम्बोधन गरे ।
प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यु योर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गरेका छन् । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्ने छ । प्रधानमन्त्री तथा नेकपा का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला यता बरिष्ठ नेता माधवकुमार नेपालले खेलेको खेल प्रति प्रधानमन्त्री ओलीले चासो ब्यक्त गर्दै संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् ।
अमेरिकामा पत्रकारिता गर्दै आएका एबीसी सहकर्मी सूर्य थापाले प्रधानमन्त्री ओलीसँग यू स्टार्ट अगेनमा गरेको लामो कुराकानी :
- राष्ट्र संघको बैठकमा अन्य देशका राष्ट्रप्रमुखहरुको नेपालप्रतिको धारणा कस्तो पाउनुभयो ?
यस अवस्थालाई दुनियाँले अत्यन्तै सकारात्मक ढंगले हेरेको मैले पाएँ । सबै अत्यन्त खुशी छन् । समर्थन गरेका छन् र सहयोगी हातहरु बढाएका छन् । सबैले नेपालमा रहेको परिवर्तन राष्ट्रपति ट्रम्पदेखि बेलायतकी प्रधानमन्त्री, इजरायलका राष्ट्रपति, क्यानडाका प्रधानमन्त्री लगायत मैले थुप्रै नेताहरुसँग भेटघाट गरें । सबैको अत्यन्तै सकारात्मक दृष्टिकोण रह्यो । मैले संयुक्त राष्ट्र संघका महासचिवसँग भेटघाट गरें । सबैसँग अत्यन्तै राम्रो कुरा भो र उहाँहरु अत्यन्तै उत्साहित हुनुहुन्छ र नेपालको शान्ति प्रक्रियालाई, नेपालको रुपान्तरण र संक्रमणकाललाई सफलतापूर्वक टुंग्याएको पक्षलाई सबैले एउटा उदाहरणीयरुपमा लिनुभएको छ र सहकार्य र सहयोगका लागि सबै तत्पर हुनुहुन्छ ।
नेपालमा अहिले परिवर्तन आएको छ । हामी संघीय गणतान्त्रिक लोकतन्त्रमा छौं । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । जनताले आफैंले बनाएको संविधान र त्यस अनुसारका संरचनाहरु निर्माण भइसकेर, त्यसको कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण भइसकेर निर्वाचनबाट निर्वाचित लामो समयपछि स्थिर सरकार बनिसकेको अवस्था छ । संक्रमकाल टुंगिएको यो पक्ष छ । हामी हिंसाका क्रमबाट पनि गुज्रियौं, त्यसको व्यवस्थापन भइसकेको छ । शान्ति प्रक्रिया मूलतः सफल भएको छ ।
अब सार्वभौम सत्तालाई कसरी अगाडि बढाउने भन्ने संरचनागत पक्षका सम्बन्धमा संघका तीनवटा तहहरु व्यवस्थित भइसकेका छन् । तीनै तहका निर्वाचन भइसकेका छन् र सबै तहका सरकारहरु राम्ररी चलेका छन् । यस्तो अवस्थालाई अब र राजनीतिक अधिकार प्राप्तिको संघर्षबाट अगाडि बढेर सुशासन र विकासको माध्यमबाट समृद्धि हासिल गर्ने र समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य साकार पार्ने अभियानमा जुटेका छौं ।
- तपाई प्रधानमन्त्री भएको छ महिना बितिसकेको छ, प्रधानमन्त्री हुँदाखेरि यति धेरै उत्साह थियो कि विदेशमा रहेका धेरै पार्टीका नेपाली जनतामा धेरै नै आशा देखिन्थ्यो । तर, सरकारले काम गर्न नसकेको भन्ने जस्तो वितृष्णा पनि सामाजिक सञ्जाल र मिडियामा देखिन्छ । यसलाई कसरी लिनुभएको छ ?
यो एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थपूर्ण केही पनि छैन । यस वीचमा सरकार बनेपछि भ्रष्टाचार रोकिएको छ । सुशासनका पक्षमा थुप्रै कदमहरु चालिएका छन् । थुप्रै कानूनहरु संविधान कार्यान्वयनका लागि बनेका छन् । तीन वर्षभित्र कानून तयार गरिसक्नुपर्ने, तर ६ महिना बाँकी रहँदासम्म कानून तयारीको कुनै कामै भैदिएको छैन । पहिले मेरो नेतृत्वको सरकारले जुन थालेको थियो, त्यो त्यहीँ छोडिया छ । त्यस्तो अवस्थामा यी सबै कानूनहरु, मौलिक हकको सम्बन्धमा तयार गर्नुपर्यो । नयाँ संविधान अनुसार अरु कानूनहरु निर्माण, संशोधन गर्नुपरो ।
मुलुकी फौजदारीसंहिता ऐनको सम्बन्धमा गत वर्ष बनेको थियो, त्यसमा बनाउनेहरुले नै अहिले बखेडा निकाल्या छन् । जसले पहिले बनाए, उनीहरु नै विरोधमा उफ्रेका छन् । अहिले एक वर्ष पछि आएर यो सरकार तानाशाही भयो भन्दै उफ्रिएका छन् । यो सरकारले अलोकतान्त्रिक कानून बनायो भनेर उफ्रेका छन् । आज विरोधका स्वरहरु आयोजना गर्ने पनि उनीहरु नै हुन् । त्यसलाई उचाल्ने पनि उनीहरु नै हुन् ।
केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ । त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन् । अहिलेको यो सरकारले बजेट बनाउँदा नबनाउँदा वषयाम सुरु भइसक्यो । सरकार गठन गर्दा नगर्दा यसैवीचमा देशभरिका बाटा बनाइसक्न त सम्भव थिएन । तर, यसवीचमा तीन दिनमा एउटाका दरले तुइनहरु विस्थापित भएका छन् । झोलुंगे पुलहरु बनेका छन् , बाटाहरु बनेका छन् ।
केही वर्ष लाथ्ग्यो मेलम्चीबाट खानेपानी ल्याउन, त्यो दु्त गतिमा काम भइरहेको छ र एक डेढ महिनाभित्र हामी काठमाडौंमा ल्याउँदैछौं । काठमाडौंको पानी सप्लाइको, ढलको अवस्था के छ, मैले भनिरहनुपर्दैन । सबै थोत्रा पाइपहरु छन् । त्यहाँ पानी छोड्नेवित्तिकै फेरि एउटा तहल्का हुन्छ । पानी नल्याई भएको छैन । तर, फेरि एउटा तहल्का हुन्छ र फेरि हामीले ती पाइपहिरु विस्थापित गर्ने र नयाँ बनाउने काम गर्नुपर्छ र बाटाहरु भत्किन्छन्, फेरि बनाउनुपर्ने हुन्छ । बाटाहरु छन् नै कहाँ काठमाडौंमा भनेजस्तो स्थिति छ । त्यसलाई मैले भनेको छु ६ महिनाभित्र म यो सबै व्यवस्थापन गरिसक्छु । दुई वर्षभित्र बाटाहरुलाई ठीक ठाउँमा ल्याइसक्छु र काठमाडौं ढलको हिसाबले, पानीको हिसाबले, बिजुलीको हिसाबले, टेलिफोनको हिसावले, यी सबै हिसाबले व्यवस्थित र राम्रा बाटाहरु भएको शहर दुई वर्षभित्र बनाउँछु ।केही पनि गरेन भनेर उफ्रिनेहरु, भनेजस्तो भएन भनेर उफ्रिनेहरु यो तपाईले भनेजस्तो सामाजिक सञ्जालमा फिँजाइएको एउटा हल्ला हो ।
- प्रधानमन्त्रीज्यू, लामा कामहरु ६ महिनामै त सम्भव छैनन्, त्यसैले एउटा सपना देखाउने, भविश्यको मार्ग देखाउने हो । तर, जनतामा के हुँदोरहेछ भने दिगम्बर झालाई नियुक्ति गर्दा, पप्पु कस्न्स्ट्रक्सन जस्ता स–साना व्यक्ति–व्यक्तिका कुरा जोड्दाखेरि जनताले सिधै तपाईसँग नाम जोड्ने र साना विवादमा यो दुई तिहाईको सरकार किन फस्ने ? जनताको दीर्घकालीन काम गर्ने लाग्ने, साना साना विवादमा फस्ने खालका काम नगर्दा हुन्थेन ?
पप्पु कन्स्ट्रक्सनका पुल हाम्रो समयमा बनेका होइनन् । पप्पु कन्स्ट्रक्सनलाई काम हामीले दिएको होइन । भत्किएका पुल, नबनेका पुल, भाँच्चिएका पुल, कच्ची पुल, जे भएका हाम्रो समयमा होइन । ती पहिले त्यस प्रकारकाले केके लिने दिने भए, पहिलेकाले जानुन् । केके कारणले एउटा पनि राम्रो काम भएन, त्यो पहिलेका सरकारले जान्ने कुरा हो । तर, अहिलेको सरकारले तत सम्बन्धमा छानविन गरेको छ । खोजीनिती गरेको छ र छानविनबाट त्रुटीपूर्ण, अपराधपूर्ण देखिएका ठाउँमा कारवाही गर्छ ।
अब जहाँसम्म केही मान्छेहरुको नियुक्ति छ, ती मान्छेहरु अदालत गएर फिर्ता भएर आएका छन् । अदालत गएर सबै फिर्ता भएर आए । कसैले चाहिँ एकजनाले भन्यो, म अदालत गएर सरकारसँग झमेला गरेर जागिर खान्न । त्यसकारणले मात्रै ऊ आएन । अथवा अदालत गइसकेर पनि उसले फिर्ता लियो । हुन त अदालत जानेवित्तिकै म पुनस्थापन भैहाल्छु, तर मैले यो झैझगडाको बाटो छाडिदिएँ भन्यो । अदालत गएपछि त पुनस्थापना भइहाल्छ ।
त्यस्तो अवस्थामा एउटामात्रै मान्छेले सरकारसँग मुद्दा लडेन भनेर उसलाई चाहिँ बाहिर राख्नुपर्ने रु उसलाई क्षमता ठिकै छ, अदालतबाट आउनुपर्ने आएन भने पनि उसलाई अहिले दिँदाखेरि न्यायोचित नै हुन्छ, किनभने भ्रष्टाचार पहिले गरेको छ कि छैन, भ्रष्टाचारको आरोप होला । कतै दोषी प्रमाणित भएको थाहा छैन । भ्रष्टाचार अहिले गर्न दिइँदैन । अहिले कुनै लेनदेनको कारोबार हुँदैन । कुनै कमिसनतन्त्र चल्दैन । यसो भएर अदालत नगएवापत कोही बाहिर बस्नुपर्ने जस्तो कुरा हुँदैन भन्ने कुरा आउँदाखेरि त्यसलाई मानिएको हो ।
- तपाई विसं. २०१५ साल पछि दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुनुुहन्छ । जनताले लामो समयदेखि यो चाहेका थिए, बल्ल पाएका छन् । तर, दुई तिहाईको सरकार बनेको सुरुवातमै घेराबन्दीमा परेको जस्तो लाग्छ ? यो घेराबन्दी भित्रबाट छ या कसले गरिराखेको होला ?
मलाई त्यस्तो घेराबन्दीजस्तो लाग्दैन । केही कुण्ठा, केही त्यस्ता कुराहरु अभिव्यक्त भएका होलान्, पोखिएका होलान् । ती हाम्रोजस्तो कलिलो लोकतन्त्रमा राम्रो र नराम्रो, राम्रा काम र नराम्रा काम, राम्रा अभिव्यत्ति, र नराम्रो अभिव्यक्ति, देश र जनताप्रति समर्पित र आफूप्रति केन्द्रित अभिव्यक्ति छुट्याउन जनतालाई पनि समय लाग्छ । त्यस्ता स्थितिको फाइदा लिएर कसैले हुन सक्छ, केही भनेको होला । यो त राम्रै कुरा हो ।
म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।
- तपाई पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । तपाईले पार्टी र सरकारको रक्षाका लागि कार्यकर्ताहरुलाई अरिंगालजस्तो बन्नुपर्यो पनि भन्नुभयो । तर, तपाई अमेरिका आइसकेपछि माधव नेपाल र अन्य नेताहरुले पनि सरकार र पार्टीको कामप्रति निक्कै ठूलो असन्तुष्टि व्यक्त गर्नुभएको छ , तपाईले रक्षा गर्न भन्नुभएको थियो, उल्टै विरोध भैरहेको छ ?
मैले जसरी भनें, त्यस कुरालाई अरुले अलिकति बंग्याएर पनि हेरे । कुनै पनि संस्था एउटा विचारमा, आदर्शमा र उद्देश्यमा आवद्ध भएको हुन्छ । पार्टी भनेको बजारमा भेला भएका मान्छे होइनन् । कोही माछा किन्न, कोही साग किन्न गएको हुन्छ । कोही बेच्न गएको हुन्छ, कोही अरु नै केही कामलाई गएको हुन्छ । विभिन्न कामले गएका हुन्छन् । विभिन्न उद्देश्यले गएका हुन्छन् । तिनको गन्तव्य पनि एउटै हुँदैन, उद्देश्य पनि एउटै हुँदैन ।
पार्टी भनेको त्यस्तो होइन । पार्टी एउटा आदर्श र एउटा बाटोबाट अगाडि बढ्नुपर्छ । मुख्य आदर्शमै हमला भइरहँदाखेरि खुच्चिङ भनेर बस्नेखालको प्रवृत्ति दलीय प्रवृत्ति होइन । अथवा आदर्शमा आवद्ध प्रवृत्ति होइन । मैले त्यतापट्टि ध्यानाकर्षण गरेको हुँ ।
अर्को तपाईले के देख्न सक्नुहुन्छ भने मैले अघि पनि भनें, अहिले म संसदीय दलको नेता ०७० को चुनावपछि छानिएपछि संविधान बन्ने बाटोमा गयो । सबै पक्षहरुलाई मिलाएर संविधान जारी गरियो । महाधिवेशन भयो, म अध्यक्ष भएँ । अध्यक्ष भएपछि, संविधान जारी भएपछि सरकार बन्यो । त्यसले हाम्रो छिमेक सम्बन्ध कस्तो हुने, आदि कुराहरुलाई एएटा आकार दियो । त्यसपछि हामी एउटा नयाँ युगतिर प्रवेश गर्यौं । हामीविरुद्ध अवश्य नै घेराबन्दीजस्तो स्थिति भएको हो, तर हामीले त्यसलाई तोडेर संयुक्तरुपमा चुनाव लड्यौं । पार्टी एकता गर्यौं । राम्रो बहुमत हामीसँग छ । सरकारमा दुई तिहाई छ । मैले तीन चौथाई भन्दा बढी मतको समर्थन प्राप्त गरें । नीति कार्यक्रम सर्वसम्मतिले पास भो ।
यस स्थितिका साथ अगाडि जाँदैछ र र, अहिले साउन र भदौमा बजेट कार्यान्वयन सुरु भएको हो । अब साउन र भदौमा बजेट निकासा हुन पाएको छैन । पानी परेको छ, पहिरो गएको छ, बाटो बन्न पाएको छैन । त्यसैबेला भारतसँगका थुप्रै सन्धी सम्झौताहरु पुनरावलोकन गर्नेदेखि लिएर चीनसँग पारवहन यातायात सन्धीको प्रोटोकल तयार हुनेदेखि लिएर यी सप्पै काम भएका छन् । र, नयाँ उत्साहका साथ देश अगाडि बढिराखेको छ । अब यसमा म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो, लौन कसरी बर्बाद हुन लाग्यो भन्ने परेको भने‘।
- हैन, तपाई नेपालमा हुँदाखेरि नै प्रदेश कमिटीका इञ्चार्जहरु छान्ने कुरामा पार्टीभित्र असन्तुष्टि देखिएको हो नि ?
त्यो असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फालानो प्रतिनिधि हैन, योग्यता क्षमता आवश्यकता अनुसार हुन्छ ।
- परराष्ट्र सम्बन्ध त सुधार्नुभयो, तर आन्तरिकरुपमा तपाईले एकदमै पेल्नुभयो भन्ने आरोप छ नि यहाँलाई ?
मैले पेल्नुपर्ने किन छ ? म पार्टी अध्यक्ष भैसक्या छु, म प्रधानमन्त्री भैसकेको छु । मलाई अरु केही चाहिएको छैन । मलानई पैसा कमाउनु छैन । धन कमाउनु छैन । केही गर्नु छैन । यस्तो अवस्थामा मैले कसैलाई पेल्नुपर्ने होइन ।
कोही आफ्ना साना स्वार्थहरु राखेर केही कुराहरु भन्छ, अथवा ल न म तपाईको समर्थक हुँ, मलाई यो चाहियो भनेका भरमा त्यो भएन भन्छ भने वा कसैले आफ्नो नातागोताका निम्ति पीर चिन्ता गर्छ भने ती कुरा त देशले सम्वोधन गरेर साध्य हुँदैन ।
- कसैलाई चाहिँ धेरै क्षमता भएकाले डबल जिम्मेवारी दिइएको हो ?
यो पहिल्यैदेखि थियो । एक नम्बर प्रदेशमा भीम आचार्य पहिलेदेखि नै हुनुहुन्थ्यो । दुईमा सत्यनारायण मण्डल पहिल्यैदेखि हुनुहुन्थ्यो । तीनमा अष्टलक्षमी शाक्य पहिलेदेखि हुनुहुन्थ्यो । चारमा यसपल्ट परिवर्तन भएको हो । पाँच मा महासचिव भएको हुनाले परिवर्तन भएको हो । ६ मा जनार्दनजी हुनुभो क्यार । ७ मा भीम रावलै हुनुहुन्थ्यो ।
- देश डुब्न लाग्यो भनेर तपाईकै पार्टीका नेताले चिन्ता गरिरहनुभएको छ, अब नेपाल गएपछि देशलाई अघि बढाउनुहुन्छ ?
खै देश डुब्न लाग्यो भनेर उहाँले कविता सविता केही साहित्य भाषण गर्नुभएको होला । देश त अत्यन्त सही बाटोमा, सही ढंगले अगाडि बढेको छ । हाम्रा छिमेक सम्बन्धहरु सुमधुर भएका छन् । ल्याण्ड लक्डबाट नेपाल खुल्ला, मुक्त भएको छ । एउटा सार्वभौम, समानताको हिसाबमा देश अगाडि बढेको छ । आर्थिक उन्नतिको दिशामा अब हामी अगाडि बढेका छौं ।
- हामी विदेशमा बसेर प्रत्येक दिनका समाचार हेर्दा दुःख लाग्छ, बलात्कारका घटनाहरु‘ तपाई यता (अमेरिका) आइसकेपछि दुई जना किशोरीले बलात्कार र एसिड आक्रमणबाट ज्यान गुमाइसकेका छन् । तपाईलाई के लाग्छ, यसमा राज्यले नियन्त्रण गर्न नसकेको हो, अथवा राज्य कमजोर भएको हो ?
पहिलो कुरा म भनौं, यस्ता कुराहरु राजनीतिक हथकण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा, राजनीतिक दाउपेच, उछिनापाछिनका कुरा होइनन् । सामाजिक अपराध भनेको बुहतै निन्दनीय र दुःखद कुरा हो । त्यसमाथि जुन प्रकारका अमानवीयभन्दा पनि अत्यन्त निकृष्ट खालका जघन्य अपराधका घटनाहरु घटेका छन्, यी अत्यन्तै दुःखद छन् । अत्यन्तै चिन्ताजनक छन् । र, यसले हाम्रो समाजिक मूल्यमान्यता र हाम्रो सामाजिक स्तर कहाँ जाँदैछ भन्ने हो ।
हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । अपराधकर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका कामहरु भए भने त्यो दुखद कुरा हुन्छ । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।
कोही कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन् ।
अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ रु त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।
अब यसमा बढी चिन्तित हुनुपर्ने कुरा, सरकारको आलोचना आफ्नो ठाउँमा होला, सरकारले राम्ररी अनुसन्धान गरोस्, खोजोस्, पत्ता लगाओस् भन्ने कुरामा सरकार क्रियाशील छ । त्यसका निम्ति अनेक स्टेपहरु चालिएको छ । त्यहाँका मान्छेहरु फिर्ता बोलाउने, अरु थप पठाउने, थप खोज अध्ययन अनुसन्धान गर्ने, बाहिरी रुपमा खोज अनुसन्धान गर्ने, भित्री रुपमा खोज अनुसन्धान गर्ने यी सबै कामहरु भएका छन् ।
यो सँगसँगै सामाजिक जागरणका लागि, समाजको नैतिक उत्थानका लागि ध्यान दिनुपर्दैन रु सामाजिक सञ्जालका नाउँमा, यस्ता साइटहरु मार्फत अत्यन्त घीनलाग्दा अपराधहरु फैलाउने ।
- कञ्चनपुरको घटनालाई कसरी हेरिरहनुभएको छ ?
जहाँसम्म घटनाको कुरा हो, घटना अत्यन्त दुःख हो । चिन्ताजनक यसकारण छ कि यति नैतिक मूल्यमा नेपालजस्तो देश, नेपाली हुँ भन्नेहरु यति तल गिर्नु भनेको दुःख कुरा हो । यसलाई उठाउनुपर्छ । अब सरकार एकदम ठ्याक्कै सफल भयो भन्न त म भन्दिनँ । किनभने सरकारले पत्ता लगाउन सकेको छैन । कोशिस गरिराखेको छ । तर, कहिले कहिले यस्ता घटनाहरु पत्ता लगाउन अलि समय लाग्छ । त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्ने भनेको त विषयविहीनताको, विषयको दरिद्रताको र संस्कार दरिद्रताको स्थिति हो ।
- प्रधानमन्त्रीज्यु कञ्चनपुरलगायतका हिंसाका घटनाहरु भइरहँदाखेरि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भनेर आलोचना भइरहेको छ नि ?
हैन, केही मान्छेहरु सबै काम छाडेर यसैमा लागेका छन् । जसरी पनि विरोध गर्ने । तिनको सम्बन्धमा त मलाई केही टिप्णी गर्नु छैन । तपाईले हेर्नु भयो भने ‘यो सरकारले के गर्दैछ, हत्या हिंसा बलात्कार गर्दैछ‘’ के यस्तै हो र ? क यो सरकारले हत्या हिंसा र बलात्कार गरिाखेको छ ? यस्ता बकबास गर्ने बकबासीहरुका सम्बन्धमा त हामीले केही कमेन्ट गर्नु छैन ।
- दुई तिहाईको प्रधानमन्त्रीले चाहेमा जे पनि हुन्छ भन्ने आशा छ क्या जनतामा
त्यो विस्तारै हुन्छ । विस्तारै के हुन्छ भने हामी राज्य संयन्त्रलाई सबल बनाउँछौं । सामाजिक नैतिकताको धरातल जुन खस्किँदो छ, त्यसलाई माथि उठाउँछौं । राजनीतिक नैतिकता, राजनीतिक उचाइ र स्तर यति तल खसेको छ, त्यसलाई उठाउनुपर्ने छ । जे पनि बोकेर हिँड्ने । राजनीतिक पार्टीहरुका राजनीतिक एजेण्डा छैनन् । कुनै विषय छैनन् । राष्ट्र निर्माणका कुनै विषय छैनन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्केतिक कुनै विषय छैनन् । अनि के भेटिन्छ भन्दाखेरि मुसाले चामलको बोरामा प्वाल पार्यो अरे भन्ने सुन्यो भने ल यस्तो सरकार मुसाले चामलको बोरामा प्वाल पारुञ्जेल के हेरेर बस्यो ? नालायक सरकार भनेर कराउने । यो खालको राजनीतिक संस्कृति जुन छ, यो एकछिनका लागि हो । दयालाग्दो संस्कृति हो यो । यसलाई संस्कृतिका रुपमा जो उठाउन खोजेका छन्, केही अर्थ छैन यसको ।
- प्रतिपक्ष नेपाली कांग्रेस कमजोर छ, ऊ आफैंभित्र लडिराखेको छ । यस्तो कमजोर प्रतिपक्षलाई तपाई किन आक्रमण गरिरहनुहुन्छ पटक–पटक ? तपाईले भाषणहरुबाट प्रतिपक्षलाई पोलिरहेको देखिन्छ ।
प्रतिपक्षतिर कहाँ फर्किनु ? प्रतिपक्षलाई त मैले न केही भनेको छु, न केही गरेको छु । न त उहाँहरुको जस्तो नक्कली मुद्दा लगाउने, थुन्ने, गिरफ्तार गर्ने, त्यस्तो केही होइन । उहाँहरु त बुरुक–बुरुक उफ्रिने, मुख छाड्ने गाली गर्ने, भाषण गर्ने, ती सप्पै गरिराख्नुभएको छ । हामी सुनिराखेका छौं । केही भनेको पनि छैन, केही गरेको पनि छैन । प्रतिपक्षतिर के फर्किनुथियो र रु प्रतिपक्षतिर नहेर्ने होइन, उहाँहरुलाई सम्मानजनक ढंगले हेरेको छ ।
- प्रधानमन्त्रीज्यु, विदेशमा बस्ने नेपालीहरु देशलाई असाध्यै माया गर्छौं, तर नेपालाई टुक्र्याउनुपर्छ भनिरहेकाहरुलाई तपाई किन कारवाही गर्नुहुन्न ? कसले रोकेको छ तपाईँलाई ?
देशमा हिंसा मच्चाउनुपर्छ भन्ने कुरा, देश टुक्र्याउनुपर्छ भन्ने कुरा खुलेआम गर्दै हिँड्ने तत्वहरु छन् । यसमा म अलिक राम्ररी नै हेर्दैछु, मसिनो गरी । यसका पछाडि क–कसको हात छ, के के छ । तर, जे होस्, सिधै दुश टुक्र्याउँछु भन्नेलाई कुनै कानूनी कारवाही गर्न, गिरफ्तार गर्न पनि पाइँदैन, थुन्न पनि पाइँदैन ।
उनिहरुलाई कार्वाही गर्न अदालतले नै रोकिराखेको छ । छोडिराखेको छ । हिंंसा गर्छु भन्नेले अदालतको प्राङगणमा भन्छ, हामीसँग बन्दूक छ, हामीलाई थुन्न सक्दैन । यो सत्ता ढाल्छौं । आदि इत्यादि अदालतको प्राङगणमा भन्छ । तर, सरकारले समाउन सक्दैन, अदालतले के भन्छ भने छोड् भन्दाभन्दै समातेकोमा चेतावनी दिन्छौं सरकारलाई भन्छ ।
मान्छेहरु मारिएका छन् । चुनाव बिथोल्न खोजिएको छ । विस्फोट गराइएको छ । गाडीसमेत मान्छेहरु अंगभंग भएका छन् । कोही मारिएका छन् । कसैका खुट्टा गएका छन्, कसैका हात गएका छन् । यस्तो अवस्थामा कुनै पनि मुद्दा मुद्दै होइन भन्ने, यस्तो खालको अवस्था छ । यो कहाँनेरि के नमिलेको हो, हामीले पनि अलिकति बुझेका छैनौं । यो राष्ट्रका सबै अंग र निकायको चासोको विषय हुनुपर्ने हो । तर, कतिपय यस्ता अंगहरु, निकायहरु फरार गराउनलाई अदालतको ढोकामा पुग्छन् । यस्ता अस्वाभाविक लाग्ने खालका कुराहरु हुने गरेका छन् ।
तर, यसमा म के भन्न चाहन्छु भने अन्ततोगत्वा जनताले निर्वाचनका माध्यमबाट सरकार छानेको, मैले सबैका अगाडि नम्र निवेदन गर्नुपर्छ, यसदेशको सार्वभौम सत्ता यसदेशको भौगोलिक अखण्डता यस देशको स्वाधीनता, यस देशको हित र स्वाभिमानको रक्षा गर्नका लागि हो, त्यो यो सरकारले गर्छ । फाइनल कुरा ।
अर्को कुरा, देशलाई फेरि अशिन्ततर्फ धकेल्ने प्रयासहरु यो सरकारले हुन दिँदैन, रोक्छ । अन्तिम निश्कर्ष त्यो हो । हामी जे पनि स्वीकार्छौं, जे पनि मान्छौं भन्ने कुरा होइन ।
- अन्त्यमा प्रधानमन्त्रीज्यु , गैरआवासीय नागरिकताको विषयमा संसदमा अहिले के भइरहेको छ ?
हामीले भन्ने गरेका छौं, एकपटकका नेपाली, सधैंका नेपाली । बाहिर गएका बेला बाहिरको नागरिकता लिएमा उसले देशभिको राजनीतिक अधिकार प्रयोग गर्न सक्ने अवस्था हुँदैन । तर, अरु, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरु प्रयोग गर्न फुक्का हुन्छ भन्ने हिसाबले संविधानमै व्यवस्था गरियो । गैरआवासीय नेपाली संघको माग, आग्रह, ईच्छाअनुसार नै त्यसको व्यवस्था गरियो । त्यसै अनुसार कानून बन्छ ।
प्रतिक्रिया दिनुहोस्