
धनगढी, ११ असोज । प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोध धनगढी नगरबासीले बिहीबार एक दिनका लागि आम हडताल आह्वान गरेका छन् । आम हडताले बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् ।
चाडबाड आएको समयमा गरिएको आम हडतालले सर्वसाधारण मर्कामा परेका छन् । कुनै पनि पूर्वाधार नभएको गोदावरीमा स्थायी राजधानी राख्नुभन्दा हालकै अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने धनगढीबासीको माग छ ।
सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको छ । प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । सो समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएको छ । उक्त सुझावबारे प्रदेशसभामा छलफल जारी छ ।
प्रदेशसभाले निर्णय लिनुभन्दा अघि धनगढीबासी आन्दोलनमा उत्रिएका छन् । धनगढी नगरबासीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई आग्रह गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्