संखुवासभा, ५ असोज। समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा सहित तीन ओटा पत्रकार संगठनले माग गरेको छ ।
शुक्रबार पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरी, आदिबासी जनजाति पत्रकार महासंघ संखुवासभा शाखा अध्यक्ष नवीन गुरुङ र रिपोटर्स क्लव नेपाल संखुवासभा शाखा अध्यक्ष मोहन तामाङ्गले विज्ञप्ती जारी गर्दै धम्की दिनेलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्धा चलाउन माग गरेको हो ।
पत्रकार मेघराज तामाङले पाँचखपन नगरपालिका ७ मा रहेको निमनगडी साना किसान कृषि सहकारीको कार्यालयमा लगाइएको ताला २७ घण्टा पछि खुल्यो भन्ने समाचार प्रकाशन तथा प्रशारण गरेको विषयलाई लिएर पाँचखपन ७ का राजेश खड्काले मोबाईल नं. ९८४२११९२७१ बाट धम्की दिएका थिए । आयन्दा सहकारीको समाचार लेखेमा जेपनि गर्न सक्ने भनि अपशव्द प्रयोग गरि खड्काले धम्कीपूर्ण अभिव्यक्ति दिएको पत्रकार मेघराज तामाङले बताए ।
यस्तो किसिमको अभिब्यक्ति र धम्कीले आमनागरिकलाई सुसुचित तथा सूचना पाउने अधिकारलाई कुण्ठित बनाएको र सिंगो पत्रकारिता पेशाकर्मीलाई समाचार संकलन तथा प्रशारण र प्रकाशनमा समेत आघात पुग्ने भन्दै कारबाहीको माग गर्दै संगठनहरुले विज्ञप्ति जारी गरेको हो ।
उक्त विषयलाई लिएर सामाजिक संजाल फेसबुक मार्फत पत्रकारलाई अपशब्द र गाली गर्ने माथि पनि कारबाही गर्न तीन ओटै संगठनले माग गरेको छ । मिथुन भोटे संखुवासभाको छोरो फेसबुक आईडीबाट पत्रकारको प्रतिष्ठा माथि आँच आउने गरी अपशव्द प्रयोग गरेकाले निजलाई समेत कारवाहीको गरिपाउन भनि निवेदन दर्ता गरेको तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस्