काठमाडौं,७ भाद्र । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले उद्योगी-व्यवसायीहरुलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न नहुने बताउनु भएको छ ।
अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुनेगरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष दाहालले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गर्नु भयो ।
बिहिबार काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुनेगरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
अध्यक्ष दाहालले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पार्नु भयो । उहाँले जनतालाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराउनु भयो ।
अध्यक्ष दाहालले वैदेशिक लगानी भित्रयाउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नु भयो ।
प्रतिक्रिया दिनुहोस्