भीमदत्तनगर, ६ भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आजपनि महेन्द्रनगर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारणले गरिरहेको प्रदर्शनमा विद्यार्थी पनि सहभागी भइरहेका छन् । विद्यार्थीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।
प्रहरीले उक्त घटनाको एकमात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् उग्र भएको छ ।
बिहानबाट सुरु भएको आन्दोलन अहिले भगतपुर क्षेत्रमा केन्द्रित भएको छ । भगतपुरमा निर्मला पढ्न गएको भनिएको रोशनी बमको घर रहेको छ ।
आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरिरहेका बताइएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बमको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौं आन्दोलनकारी एकीकृत भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।
स्थानीय दैनिक मानसखण्डका अनुसार यसअघि बिहानैदेखि आन्दोलनकारी बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, सीडीओ निवास, वडा प्रहरी कार्यालयले घेराउ गरेका थिए ।
आज दोस्रो दिन पनि व्यापारी, उद्यमी स्वस्फूर्त बन्दमा उत्रिका छन् । सार्वजनिक यातायात पनि ठप्प छ । विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुलेका छैनन् ।
गाउँ–गाउँबाट आएका आन्दोलनकारी नेतृत्वविहीन छन् । समूह–समूहमा बाँडिएका उनीहरु आ–आफ्नै तरिकाले आन्दोलनरत छन् ।
आन्दोलनकारी नेतृत्वविहीन हुँदा प्रमुख जिल्ला अधिकारीलाई वार्ता गर्न र समाधान खोज्न समेत समस्या भएको छ । सीडीओ कुमारबहादुर खड्काले आन्दोलनको नेतृत्व नहुँदा परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन् ।
आन्दोलनकारीले एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी सीआइबीको टोली तत्काल फिर्ता बोलाउन नाराजुलुस मार्फत माग गरिरहेका छन् ।







प्रतिक्रिया दिनुहोस्