काठमाडौं, ६ भाद्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आजपनि महेन्द्रनगर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारणले गरिरहेको प्रदर्शनमा विद्यार्थी पनि सहभागी भइरहेका छन् । विद्यार्थीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।
वास्तविक बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर गेट अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले बुधवार बिहान ५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । महेन्द्रनगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १०–१५ वर्षका विद्यार्थी प्रहरी प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीविरुद्ध नारावाजी गर्ने ३–४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको प्रदर्शनकारीले जनाएका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै नारावाजी गर्ने विद्यार्थीलाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्