
काठमाडौं, ६ भाद्र । काठमाडौंमा ट्याक्सी चालकहरुले बुधबारदेखि ड्रेस लगाउनुपर्ने भएको छ।
बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरोसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू भएको जनाएको हो।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल सम्भव नहुने भएकाले एक महिनाको समय दिएको छ।
एक महिना भित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारबाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए।
यात्रुलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सी भित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राइभरलाई कानुनी कारबाहीको दायरामा ल्याइने उनले बताए।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए।
उनले पूर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसँग माग गरे। माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारबाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले ध्यानाकर्षण गराए।







प्रतिक्रिया दिनुहोस्