
काठमाडौं, २८ साउन । देशका विभिन्न नदी तथा खोला–खहरेमा वाढी आएको छ । लगातारको वर्षाले राप्ती, कमला, बागमती, कन्काई, रातु, बबई लगायत देशैभरीका नदी र खोलामा बाढी आएको हो । राप्ती नदीमा वाढीले खतराको सतह पार गर्न लागेपछि गए रातीदेखि नै साइरन बजाइएको छ ।
अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।
‘विगत दुई दिनदेखि देशभरी पानी परिरहेको छ,’ रिमालले भने, ‘अझै थप दुई दिन लगातार बर्षा हुने संभावना छ ।’ कतै मध्यम र कतै भारी वर्षाको संभावना रहेको उनले बताए ।
भारी वर्षापछि सिन्धुलीको कमला नदीको बहाब खतराको तहसम्म पुगेको छ । रानीबास क्षेत्रमा कमला नदीको बहाब खतराको तहसम्म पुग्दा स्थानीय त्रसित बनेका छन् ।
कमला नदीको वाढीले धनुषा र सिरहामा पनि खतरा वढेको छ । वाढी पूर्वानुमान महाशाखाले पनि देशका सबैजसो खोला र नदीमा वाढी आएकाले सतर्कता अपनाउँन आग्रह गरेको छ।
महाशाखाले आज र भोली चुरेका सवैजसो खोलानाला र तराइको होचा स्थानमा बाढी–डुवानको जोखिम रहेको जनाएको छ । सप्तकोसीमा आज साँझपछि बहाब सतर्कता तह माथि जान सक्ने महाशाखाको अनुमान छ ।
त्यस्तै कमला, कन्काइ, बागमती लगायतमा वाढीले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
चुरे क्षेत्रमा भारी वर्षा भएकाले वाढी पहिरोको खतरा वढेको हो । अहिलेपनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो र रातीसम्म देशैभरी हल्का र मध्यम खालको बर्षा हुने अनुमान महाशाखाले गरेको छ । वर्षा र वाढी–पहिरोको कारण देशका धेरै ठाउँमा यातायात अबरुद्ध भएको छ ।







प्रतिक्रिया दिनुहोस्