
काठमाडौं, २० साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका –३ ठाँटीबजारमा अबिरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको र सरकारका तर्फबाट गर्नुपर्ने उद्दार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा उद्दार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रमकर्मी र स्वयंसेवकहरुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
आइतबार बिहान खसेको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नम्बर–६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शितली लोहार उहाँका छोरीहरु १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षकी भगवती सोही ठाउँकी ८ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षका नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । यस्तै पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्