
काठमाडौं, १७ साउन, । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।
यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफै वानेश्वर वृत्तमा आएका छन् ।
साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।
सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।







प्रतिक्रिया दिनुहोस्