
काठमाडौं,१६ साउन । बिराटनगरमा २०६५ भदौ ४ गते खोलेको अवैध क्याम्प भारतले आजदेखि बन्द गरेको छ ।
सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो ।
कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।
एकदशकदेखि नै बिराटनगरबाट भारतीय क्याम्प हटाउन नेपाली पक्षले माग गर्दै आएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले समेत सो क्याम्प हटाउन नेपालस्थित भारतीय दुतावासलार्इ पत्राचार गरेको थियो । तैपनि भारतले क्याम्प हटाएको थिएन ।
नेपाली सवारीसाधनलार्इ रूट परमिट दिन क्याम्प खोलिएको बताएपनि सो क्याम्पबाट नेपालको आन्तरिक मामिलामा भारतले जासुसी गरिरहेको नेपाली अधिकारीहरूले जानकारी पाएका थिए ।
नेपालको अनूमति बिनै खोलिएको यो क्याम्पबाट भारतले अवकाशप्राप्त गोर्खा सैनिकहरूलार्इ पेन्सन बाँड्ने, पेन्सनपट्टा नवीकरण गर्ने, सवारी परमिट जारी गर्ने र भारत अध्ययन गर्न जाने नेपाली विध्यार्थीहरूलार्इ शैक्षिक अनुमति दिने तथा धार्मिक पर्यटकहरूलार्इ परमिट दिनेसम्मका काम गरिरहेको थियो ।
केहीअघि नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली भारतको भ्रमणमा जाँदा भारतीय पक्षलार्इ बिराटनगरको फिल्ड अफिस बन्द गर्न भनेका थिए ।
भारतीय दुताबासद्वारा जारी विज्ञप्तिमा बिराटनगर फिल्ड अफिसबाट यसअघि हुँदै आएको सबै काम काठमाडौंको लैनचौरस्थित भारतीय दुताबासबाटै हुने उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस्