
काठमाडौं,१३ साउन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि सरकारले दर्ता गराएको संसोधन प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
डाक्टर गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमतले स्वीकृत गरेको हो । चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारबिच भएको लिखित सहमति अनुसार सरकारले बिद्ययेकमाथि संसोधन दर्ता गराएको थियो ।
संशोधन विधेयक पारित भएमा अब काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनेगरी ऐन बन्नेछ । बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराउदै बिद्ययेक सहज रुपमा अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।
बैठकमा उक्त बिद्ययेकमाथि सैद्धान्तिक छलफल पनि भएको थियो । छलफलमा भाग लिदै सांसदहरुले सबैको भावनालाई समेटेदै उक्त बिद्ययेकलाई अघि बढाउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका नेता दिलेन्द्र वडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताउनुभयो । त्यस्तै सांसद सरिता गिरीले सरकारले गरेको सहमतिलाई कानुन बनाएर अघि बढाउने दायित्व सदनको भएको बताउनुभयो ।
सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते बुधबार बोलाईएको छ ।







प्रतिक्रिया दिनुहोस्