
काठमाडौं, १० साउन । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा परी अहिलेसम्म तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
मृत्यु हुने सिन्धुपाल्चोक भोटेकोशीका अन्दाजी ३५ वर्षका श्याम तामाङ हुन् । दुई जनाको पहिचान हुन सकेको छैन । सात जना अझै बेपत्ता छन् । उनीहरु त्यहाँबाट भागेका थिए वा पहिरोमा पुरिए भन्ने अझै यकिन भएको छैन ।
अहिले पनि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ । १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले दुई घर पुरिएको छ । पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ । टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।







प्रतिक्रिया दिनुहोस्