
काठमाडौं,९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिनु भएको छ ।
महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गर्नु भयो ।
विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गर्नु भयो ।
महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाईरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गर्नु भयो । उहाँले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरितका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाउनु भयो ।
उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्