
काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन मानव अधिकार विरोधी कुरा भएको बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ४० पुष्पलाल स्मृति दिवसका अवसरका आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले अनसन बसेर आफैलाई समेत दुःख दिन नपाइने समेत बताए। डा. गोविन्द केसीसँगसँग वार्ताका लागि समति बनाए पनि केसीले वार्ता गर्न नमानेको बताए। ‘वार्ता समिति बनाएको छ वार्ता गर्दिनँ भन्नुहुन्छ’, प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले डा. केसीको समर्थनमा डाक्टरहरु अस्पतालन नै बन्द गरेर लाग्नु गैरकानुनी र अमानवीय भएको बताउदै डाक्टरले उपचार गर्दिन भन्नु गैरकानुनी र अमानवीय कुरा भएको बताए ।
जनताको तलब खानेले एसोसियसन बनाएर उपचार गर्दिन भन्न नपाइने जीकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडिने बताएका छन्। उनले कांग्रेस नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार देखेर तर्सिएको समेत बताए।
पहिलो संविधानसभाको निर्वाचनमा आफूहरुले पराजय हुँदा पनि नहड्बडिएको र जनतालाई सम्झाउँदै बुझाउँदै धैर्यतापूर्वक अगाडि बढेको स्मरण गर्दै उनले कांग्रेसलाई धैर्यता नगुमाउन सुझाव दिए।
उक्त कार्यक्रममा प्रचण्डजस्तै कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भनिने कांग्रेसले २०१६ सालमा राजाले संसद भंग गर्दा नेकपाका महासचिव पुष्पलालले पुनस्थापनाका लागि आन्दोलन गरौँ भन्दा नमानेको दावी गरे। प्रधानमन्त्री ओलीले कांग्रेसले २०४८ सालदेखि नै कम्युनिस्टले जित्यो भने अधिनायकवाद आउँछ भन्दै आएको बताए।
कांग्रेसको सरकार आएपछि एमालेका तीन हजार कार्यकर्तालाई मुद्दा लगाएको र एक सय २२ जनाको हत्या गरेको पनि उनले आरोप लगाए।
कांग्रेसको विना तुकका कुरा झिकेर जनतालाई अल्झाउँछौ भन्नु गलत भएको भन्दै ‘यस्ता कुरामा अल्झाउँछौ भनेर कसैले नसोचे हुन्छ, यो सरकार यस्ता कुरामा अल्झिनेवाला छैन’, उनले भने, ‘यो सरकारले राम्ररी बुझेको छ जनताले यसलाई मत दिएको देश बनाउनका लागि, गरिबीबाट उन्मुक्तिका लागि, शिक्षा, स्वास्थ्य, सुरक्षा, सम्मान दिलाउनका लागि हो।’ त्यो अभिभार पुरा गर्न सरकार लागि परेको समेत प्रधानमन्त्री ओलीले बताए ।







प्रतिक्रिया दिनुहोस्