काठमाडौं, २ साउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध चिकित्सकहरु नै उत्रिएका छन् ।
जनताले पाउनुपर्ने अत्यावश्यक चिकित्सा सुविधा बन्द गर्ने नमिल्ने भन्दै चिकित्सकहरुले संघको बन्द निर्णयको विरोध गरेका छन् । राष्ट्रिय चिकित्सक संघ, नेपाल र अखिल नेपाल प्रगतिशिल जनसस्वास्थ्यकर्मी महासंघले राजधानीमा आज पत्रकार सम्मेलन गरी जनताले पाउने सेवाबाट बन्चित गर्ने नमिल्ने जिकिर गरेका छन् ।
यी दुई संस्थाले नेपाल चिकित्सक संघ कुनै राजनीतिक पार्टीको गोटी भएको भन्दै त्यसको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको भाग १ धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र मातहतका निकायहरुले बनाउने हरेक नीति, कार्ययोजना र कार्यक्रमहरु संविधानको यो भावनालाई संरक्षण गरेर जनताको आधारभूत र आकस्मिक स्वास्थ्य अधिकार सुनिश्चित गर्छौ भनेर सेवामा होमिएकाहरु राजनीतिक दलको गोटी बन्नु नहुने उनीहरुको जिकिर रहेको छ ।’
नेपाल सरकारकै अन्तर्गत पर्ने अस्पतालमा त संविधानप्रदत्त यी अधिकार जनताले निशुल्क उपभोग गर्न पाएका छैनन् भने दलीय स्वार्थमा लागेर जनताले पाउनुपर्ने आधिकार बन्द गर्नु उचित नभएको विज्ञप्तीमा भनिएको छ ।
हामीकहाँ स्वास्थ्य सम्बन्धी बाँडिएका सपनाहरु धेरै ठूल्ठूला छन् । अमेरिका जस्तो विकसित राष्ट्रले समेत दिन नसकेका स्वास्थ्यका अधिकारहरु नेपालमा कागज, भाषण र नीतिमा लोकप्रियता बटुल्न अनशन, आन्दोलन गर्नुको कुनै औचित्य नभएको पनि उनीहरुले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्