
काठमाडौं, १ साउन । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् ।
निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।
सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । यो सँगै निकिताको चलचित्र विकास बोर्डमा पूर्नबहाली हुने भएको हो ।
चलचित्र विकास बोर्डले मंगलबारबाट बक्स अफिस काठमाडौंमा लागू गराउने तयारी गरेको छ । मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।
जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको थियो। नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली पदमुक्त भएका थिए ।
निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बोर्ड अध्यक्षमा उनी गएको वर्षको मंसिर २५ गते नियुक्त भएकी थिइन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुने प्रावधान रहेको छ।







प्रतिक्रिया दिनुहोस्