काठमाडौं । ब्रिटिस उपनिवेशबाट भारत मुक्त हुनुभन्दा एक दिन अगाडी नै पाकिस्तान छुट्टै मुलुक बनिसको थियो । भारत स्वतन्त्रताको आन्दोलनमा रहेको बेला नयाँ मुलुकको मान्यता पाएको पाकिस्तानको राजनीतिक इतिहास भारतको भन्दा पनि उत्तरचढावयुक्त छ । पाकिस्तान पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने मुलुक हो । तर, पाकिस्तान पनि लोकतन्त्रलाई संस्थागत गर्न असफल जस्तै बनेको छ । पटक पटकको सैनिक शासन र असफल सरकारहरुका कारण पाकिस्तानको राजनीतिक इतिहास उत्साहजनक छैन । तर, पनि पाकिस्तानले स्वतन्त्रताको उत्तरचढावमय सात दशक भने पार गरिसकेको छ ।
पाकिस्तानी स्वतन्त्रता भारतभन्दा एक दिन जेठो छ । लामो समय बेलायती उपनिवेशमा रहेको भारत स्वतन्त्र हुने एक दिन अघि नयाँ मुलुकका रुपमा पाकिस्तानको जन्म भयो । १४ अगष्ट १९४७ मा पाकिस्तान भारतबाट छुट्टिएको हो । मुलुकको स्वतन्त्रता र लोकतन्त्रको लडाई लडिरहेको भारतसँग छुट्टिएको पाकिस्तानले नयाँ मुलुकको हैसियतमा स्वतन्त्रता त प्राप्त गर्यो । एउटा नयाँ मुस्लिम मुलुकको हैसियत पनि बनायो तर लोकतन्त्रलाई कहिल्यै संस्थागत गर्न सकेन । पटक पटकको सैनिक शासन र असफल सरकारहरुका कारण पाकिस्तानको राजनीतिक इतिहास उत्साहजनक रहेन ।
पाकिस्तानी स्वतन्त्रताका सेनानी तथा पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलि खाँ र सैनिक प्रमुख मोहम्मद अलि जिन्हाले लामो शासन गर्न पाएनन् । सैनिक प्रमुख जिन्हाको १९४८ मा नै मृत्यु भयो भने १९५१ मा नै पहिलो निर्वाचित प्रधानमन्त्री लियाकत अलि खाँलाई अपदस्थ गर्ने असफल प्रयास गरियो । पाकिस्तानको लोकतन्त्र यसपछिका ७० वर्ष सम्म पनि यही नियति भोगिरहेको छ । त्यतिबेला फेरि लोकतन्त्र फर्कियो, जतिबेला पूर्वी पाकिस्तान विभाजनको संघारमा थियो । जुिल्फकर अलि भुट्टो प्रधानमन्त्री भए र सैनिक थुनामा रहेका शेख मुजिबुर रहमानलाई मुक्त गरे । तर उनै मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई बंगलादेशका रुपमा छुट्याएर लगे ।
१९७३ मा याँ संविधान जारी गरेर संसदीय लोकतन्त्र फर्काएका जुल्फिकर अलि भुट्टोलाई १९७७ मा फेरि सैनिकले अपदस्थ ग¥यो । पाकिस्तानको लोकतन्त्र अर्को एक दशकका लागि अपहरित भयो । जनरल जियाउल हकले त्यसबेलासम्म शासन गरे, जबसम्म उनी हवाइजजहाज दुर्घटनामा मारिएनन् । पाकिस्तानी स्वतन्त्रता दिवसको तेस्रो दिन १७ अगष्ट १९८८ मा जियाउल हक हवाइ दुर्घटनामा मारिए ।
विपक्षीहरुको हत्या गरेको अभियोगमा भुट्टोलाई फाँसी दिने उच्च अदालतको फैसलालाई सन् १९७९ मा सर्वाेच्च अदालतले सदर ग¥यो । यस अघि जनरल जियाउल हकले भुट्टोका आलोचक मस्ताक हुस्सेनलाई भुट्टो बिरुद्ध छानवीन गर्ने जिम्मेवारी दिएका थिए । मुस्ताककै प्रतिवेदनका आधारमा भुट्टो बिरुद्ध अदालतमा मुद्दा चलाइएको थियो ।
भुट्टोलाई फाँसीको सजायँ दिइएको घटनाले नेपालको राजनीतिलाई पनि तरंगित गर्यो । फाँसी बिरुद्ध नेपालमा रहेको पाकिस्तानी दूतावासमा बिरोधपत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीले धरपकड गर्यो । यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भए । गोरखापत्र संस्थान र नेपाल वायुसेवा निगममा आगजनीका घटना समेत भए । घटनाले अराजक मोड लिएपछि २०३६ साल जेठ १० गते राजा वीरेन्द्रले निर्दल र बहुदलका बीच जनमत संग्रह घोषणा गरेका थिए ।
जियाउल हकको त्यसबेला हवाइ दुर्घटनामा मृत्यु भयो, जतिबेला संसारभर लोकतन्त्रका पक्षको आन्दोलनको लहर चलेको थियो । हठात पाकिस्तानमा लोकतन्त्र फेरि फर्कियो । १९९० को दशका बिश्वभर आएको लोकतन्त्र अधिकांश मुलुकमा चलिरहेकै छ तर पाकिस्तानमा भने सैनिक बिद्रोह र लोकतन्त्र अझै लुकामारी गरिरहेकै छन् । १९८८ मा आम निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री बेनजीर भुट्टो दुई वर्षमा नै भ्रष्टाचारको अभियोगमा सत्ताच्यूत गरिइन् । त्यसपछि प्रधानमन्त्री नियुक्त भएका नवाज शरिफ सैनिक दवावमा राजीनामा दिन वाध्य भए पछि बेनजीर फेरि प्रधानमनत्री भइन । यसरी बेनजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी र नवाज शरीफको मुस्लिम लिगको सत्ताको लुकामारी १९९९ सम्म चलिरह्यो ।
१९९९ अक्टोवरमा जनरल परवेज मुसर्रफले सैनिक बिद्रोह गरेर शासन हातमा मात्र लिएनन्, शरीफलाई अपहरण र आतंककारी गतिविधि गरेको अभियोगमा आजीवन कारावासको सजायँ सुनाइयो । प्रवास जाने शर्तमा एक वर्ष पछि रिहा भएका शरीफ साउदी अरेबिया गए । पति आसिफ अलि जर्दारीलाइृ भ्रष्टाचारको अभियोगमा थुनामा राखेपछि बेनजीर भुट्टो १९९९ मा नै बेलायत प्रवासमा गएकी थिइन् ।
२००७ मा प्रधानन्यायधीश इफ्तिखर मोहम्मद चौधरीलाई निलम्वन गरेको घटनाले बिरोधको ठूलो रुप लियो । यही मौका पारेर बेनजीर स्वदेश फर्किएपछि राजनीतिले नयाँ मोड लियो । नवाज शरीफ पनि यही मौकामा स्वदेश फर्किए । त्यसै वर्ष चुनावी र्यालीमा बेनजीरको हत्या भयो । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र मुस्लिम लिगको गठबन्धन सरकारमा पीपीपीका युसूफ रजा गिलानी प्रधानमन्त्री भए । २००८ अगष्टमा मुसर्रफ राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भएपछि बेनजीरका पति आसिफ अलि जर्दारी राष्ट्रपति निर्वाचित भए ।
२०१२ जुनमा सर्वाच्च अदालतले प्रधानमन्त्री गिलानीलाई अयोग्य घोषित ग¥यो । एक वर्ष पछि भएको आम निर्वाचनमा मुस्लिम लिगले फेरि विजय पायो र नवाज शरीफ फेरि सत्तामा फर्किए । निरन्तर चार वर्ष प्रधानमन्त्री भएका शरीफलाई सर्वाच्च अदालतको आदेशबाट २०१७ अगष्ट अर्थात यसै महीना भ्रष्टाचारको अभियोगमा पदमुक्त गरिए । आम निर्वाचन हुन एक वर्ष बाँकी हुदा मुस्लिम लिगकै शाहिद खाकन अब्बासी पाकिस्तानको नयाँ प्रधानमन्त्री भएका छन् ।
निर्वाचित र कामचलाउ गरी पाकिस्तानमा अहिले प्रधानमन्त्री भएका अब्बासी २८औं हुन् । सैनिक बिद्रोहको चपेटामा पर्दै गएको पाकिस्तानी राजनीतिमा विस्तारै अदालत हावी हुन थालेको देखिएको छ । भारत र पाकिस्तान विभाजनसँगै शुरु भएको कस्मिर विवाद आज पर्यन्त टुंगिएको छैन ।
भारतस“गको विभाजनपछि पाकिस्तानले पनि धेरै क्षेत्रमा विकासको फड्को मारेको छ । भारत जतिकै आर्थिक क्षेत्रमा क्षेत्रमा शक्ति राष्ट्रको लयमा नरहेपनि पाकिस्तान कमजोर छैन । तर, पाकिस्तानमा पनि राजनीतिक अस्थिरताले नराम्ररी काम गरेको छ । बारम्बारको शैनिक कु पाकिस्तानका लागि सबैभन्दा घातक इतिहास बनेको छ । त्यति मात्र होइन, पाकिस्तानलाई आतंकवादले पनि नराम्ररी सताएको छ ।
पानिकस्तान स्वतन्त्र हैसियतको राष्ट्र त बन्यो । तर, नयाँ राष्ट्रको हैसियत पाएयता नै पाकिस्तान समस्यामा छ । त्यसैले पाकिस्तानले पनि सात दशकको यात्रा तय गरिसके पनि अपेक्षाकृत विकास गर्न सकेन ।
प्रतिक्रिया दिनुहोस्