
काठमाडौं, २९ असार । आज २ सय ५ औं भानुजयन्ती , आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुको चुदी रम्घामा भएको थियो । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो । पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घा“सीले घा“स घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।
विगतमा परम्परागत रुपमा मनाइए पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीको अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ । भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने त्रिदिवसीय साहित्यसम्मेलनका लागि हिमाली सभ्यता र संस्कृति भएका विश्वका करीब एक दर्जन मुलुकका ५० जना साहित्य र कलापारखी नेपाल आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुहुने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने विभिन्न मुलुकका साहित्यकारको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।
उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।
उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् ।







प्रतिक्रिया दिनुहोस्