
काठमाडौं, २९ असार । भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धन–जनको क्षति पुर्याएको छ । एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वस्तीहरु जलमग्न हुँदा खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग भएको छ ।
यो २५ वर्षयताकै ठूलो बाढी हो । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको मध्यपुर ठिमी नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली बताए।
पछिल्लो समय राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास भएको छ । यही कारण हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा विनाश भएको छ ।
खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि भक्तपुरको हनुमन्ते खोलामा भएको जानकारहरु बताउँछन् ।
खोलाको घर साँघुर्याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको प्रशासकीय अधिकृत ज्ञवाली बताउँछन् । हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोलाई लो–ल्यान्डका रुपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ ।
हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ ।
डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए ।
त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।
रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । स्थानीयबासीको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।
सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुर्याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ ।
मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्