
काठमाडौं २८ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेट गरेका छन् । बिहिवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताए। अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताए ।
अध्यक्षले भने, ‘हामीसँग तीनवटा (स्थानीय, प्रादेशीक र संघीय )सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् । ’ अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए ।
भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताए । जर्वोसले भने, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गछौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।’
नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको प्रतिवद्धता थियो । म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिर मात्र नभएर एक यात्रा बताए ।







प्रतिक्रिया दिनुहोस्