
भक्तपुर, २८ असार । अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा पर्नुको साथै जनजीवन अस्तब्यस्त बनेको छ । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट क्षेत्रका बस्ती डुबानमा परेका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ मझुवा टोलमा घरमाथिको पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र नातिनी अढाइ वर्षकी सम्पदा लामा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।
त्यस क्षेत्रमा फसेका करीब १ सय जनालाई उद्धार गरिएको प्रहरील्े बताएको छ।
उद्धार गरिएका मध्ये ३ जना सामान्य घाइते भएकाले उनीहरूलाई भक्तपुर अस्पताल लगिएको छ । अन्यलाई स्थानीय स्कूलसहित खुल्ला स्थानमा राखिएको छ ।
यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षा बिहान केही समयअघिबाट रोकिएकाले बाढी कम हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्