काठमाडौं, ९ जेठ । गणतन्त्र दिवसका दिन ८ सय ५० कैदीलाई बाँकी कैद माफी दिई जेलमुक्त गर्न नामको सिफारिस गरिएको छ । कारागार व्यवस्था विभागले मंगलबार गृह मन्त्रालयमा सो सिफारिस गरेको हो।
विभागले ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरेको हो।
विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८ सय ५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। मैनालीले भने, ‘करिब ८ सय ५० को नाम कानुन अनुसार नै सिफारिस भएको छ।’
सिफारिस गरेको नाममा नेता बालकृष्ण ढुंगेलको नाम पनि परेको स्रोत बताउँछ । कार्यविधिको कैद माफी सम्बन्धी मापदण्डभित्रै पर्ने भएकाले ढुंगेलको नाम पनि सिफारिस गरिएको विभागका एक अधिकारीले बताए।
ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला गरिएको छ। गत कात्तिक १४ गते पक्राउ परेका ढुंगेल डिल्लीबजार कारागारमा छन्।
कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार उनी सहित अन्यलाई गणतन्त्र दिवसको दिन (आगामी जेठ १५ गते) छाड्न लागिएको हो। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ।







प्रतिक्रिया दिनुहोस्