
काठमाडौं, ७ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीले पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकले केन्द्रीय कार्यालयको टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय पनि गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको दुई ठाउँ रहेको कार्यालय एकै ठाउँमा ल्याई संचालनका लागि आवश्यक निर्णय लिने जिम्मेवारी पार्टीका दुवै अध्यक्षलाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्षद्वय ओली र दाहालले दुवै पार्टी कार्यालयको अवलोकन गरीसक्नु भएको छ ।
बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा नियमावली मस्यौदा कार्यदल पनि गठन गरेको छ । पार्टी संचालनका लागि विधानस“ग परिपुरक हुनेगरी नियमावली बनाउन महासचिव पौडेल नेतृत्वको कार्यदल गठन गर्नु परेको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
कार्यदलमा नेताहरु देवप्रसाद गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहनुभएको छ । कार्य दललाई पार्टी संचालन नियमावली बनाउन १५ दिन समयावधि पनि तोकिएको छ ।
बैठकले पार्टी एकीकरणका लागि आवश्यक सुझाव दिन सबै प्रदेश, प्रवास र जनवर्गीय संगठनहरुमा पनि चार/चार सदस्यीय कार्य दल गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका प्रदेश र प्रवास तथा जनवर्गीय संगठनका इन्चार्ज र संयोजक कार्य दलमा रहने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कार्य दललाई १५ दिन भित्र आफ्नो सुझाव सचिवालयमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि बसेको सचिवालयको पहिलो बैठकले त्यसको संगठन र पार्टी केन्द्रीय कार्यालय व्यवस्थापनको कामलाई अघि बढाएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे पनि बिफ्रिङ गर्नुभएको थियो ।
यस्ता छन् बैठकका निर्णयहरु-
– ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइयो।
– संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न मस्यौदा कार्यदल गठन। (कार्यदलमा महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल, खिमलाल देवकोटा रहेका छन्।)
– संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व घटकहरुका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि ४-४ सदस्यीय कार्यदल गठन।
– जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनको पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी ४ सदस्यीय कार्यदललाई जिम्मेवारी दिने।
– यी तीन वटै कार्यदलको समायवधि १५ दिन तोकिएको छ।
– केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।







प्रतिक्रिया दिनुहोस्