काठमाडौं, २४ साउन । हाम्रो देशमा पार्टी बन्ने र फुट्ने श्रृङखला नौलो होइन । ठूलै ढोङ सहित पार्टी स्थापना हुन्छ । तर, केही समय पछि विभाजन हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भने निक्कै रोचक छ । किनकी, राप्रपा जन्मदै जुम्ल्याहा पार्टी हो । पञ्चायती व्यवस्था ढले लगत्तै पूर्व पञ्चहरुको पार्टीको रुपमा २०४७ सालमा राप्रपा बनाउने कसरत सुरु भयो ।
एकै दिन एउटै नाममा दुई अध्यक्ष भएको पार्टी घोषणा भयो – राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को पार्टीको नेतृत्व लोकेन्द्र बहादुर चन्दले । पछि निर्वाचन आयोगमा नामाङ्कन भयो, राप्रपा–थापा र राप्रपा–चन्द । यसरी जुम्ल्याहा जन्मेको राप्रपाको राजनीतिक जीवन एकता विभाजन , पेरि एकता र फेरि विभाजनमा गुज्रेको छ । र, फेरि एकपटक राप्रपा फुटेको छ । रोल…
राप्रपा जन्मदै जुम्ल्याहा
२०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेपछि पूर्व पञ्चहरुका लागि पनि पार्टी चाहियो । दरवारसँग नजिक रहने र दरवारले प्रयोग गर्ने दुई धार थिए । लोकन्द्रबहादुर चन्द दरवारका प्रिय थिए भने सूर्यबहादुर थापा दरवारकालागि आवश्यक । पटक पटक प्रयोग भएका सूर्यबहादुर थापा २०४० सालमा अबिश्वासको प्रस्तावबाट प्रधानमन्त्रीबाट हटाइदेखि सूर्यबहादुर दरवारबाट केही टाढिएका हुन् ।
पञ्चायतमा देखिएका धारलाई समात्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नामका दुई पार्टी एकै दिन घोषणा गरिए । यो दिन थियो, २०४७ जेठ १७ गते । एउटा समूहको नेतृत्व सुर्यबहादुर थापाले गरेका थिए भने अर्को समूहको नेतृत्व लोकेन्द्रबहादुर चन्दले । तर दुई पार्टी एउटै नाममा चल्न सम्भव थिएन । एउटै नाममा दुई पार्टी बन्ने भएपछि निर्वाचन आयोगले पार्टी अध्यक्षको थर पार्टीको नाम पछि थपिदियो ।
दुई पार्टीको नामाङ्कन भयो : राप्रपा–थापा र राप्रपा–चन्द । सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले चुनाव चिन्ह गाई पायो भने लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले हलो । दुबै पार्टी २०४८ को निर्वाचनमा सहभागी भए । तर, दुबै पार्टीको लज्जास्पद हार भयो । राप्रपा–थापाले १ र राप्रपा–चन्दले ३ सीट मात्र जित्यो ।
एकतापछि निर्णायक शक्ति
२०४८ सालको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि दुई राप्रपाबीच एकता भयो । दुई पार्टी एक भएपछि चाहिँ राप्रपा निर्णायक शक्तिको रुपमा उदायो । पार्टी एकतापछि २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो । २० सिट जितेको राप्रपा तेस्रो शक्तिको रुपमा स्थापित भयो । पार्टी एकतापछि तेस्रो शक्ति भएकै बेला नेकपा एमालेको समर्थनमा पहिलो पटक राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पायो ।
पुराना पञ्चहरु बहुदलको छैठौं वर्षमा नै प्रधानमन्त्री भएर उदायो । सरकारको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरे । चन्दको सरकार ढलेपछि राप्रपाकै नेतृत्वमा सरकार गठन भयो । नेपाली कााग्रेसको समर्थनमा सरकारको नेतृत्व सूर्यबहादुर थापाले गरे ।
सत्तारोहणपछि दुई टुक्रा
राजनीतिको उच्चतम विन्दु सत्ता नै हो । तर, सत्तामा पुगेपछि राजनीतिक दलमा फुट हुनु नेपाली राजनीतिमा परम्परा जस्तै बनिसकेको छ । राप्रपाले पनि यो परम्परालाई निरन्तरता दिइरहेको छ । पहिलोपटक लोकन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनेपछि राप्रपामा विवाद सुरु भयो । त्यही विवादले चन्द नेतृत्वमा बनेको सरकार ढालेर थापाको नेतृत्वमा सरकार बन्यो । पछि थापा नेतृत्वको सरकार पनि विवादकै कारण ढल्न पुग्यो । सत्तारोहण पछि सुरु भएको विवाद २०५४ सालमा फुटमा परिणत भयो । लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन भयो ।
फुटपछि फेरि हार र अनि एकता
विभाजनमा हार र एकतामा जीत सर्वमान्य जस्तै हो । राप्रपाको जीवनमा यो सिद्धान्त बारम्बार लागु भएको छ । सत्तारोहणपछि फुटेको राप्रापा फेरि पराजित भयो । २०५६ सालको निर्वाचनमा दुबै राप्रपा सहभागी भए ।
सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले ११ सिट जित्यो । तर, लोकेन्द्रबहादुर चन्द पक्षको राप्रपा भने शुन्य भयो । पार्टी विभाजनपछि दुबै राप्रपाको अवस्था नाजुक भयो । त्यसपछि २०५६ सालमै फेरि दुई राप्रपाबीच एकता भयो । तर, २०५६ सालको एकता मार्फत राजेश्वर देवकोटाले एक समूह उछिट्याए । उनको समूहको नाम राप्रपा राष्ट्रवादी रह्यो ।
ज्ञानेन्द्रको शाही कदमपछि दुई प्रधानमन्त्री
२०५६ सालको निर्वाचनपछि एक भएको राप्रपामा फेरि उत्तरचढाव आयो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते शाही कदम सुरु गरेपछि राप्रपामा फेरि अन्तरविरोध चुलियो । ज्ञानेन्द्रको पालामा लोकेन्द्रबहादुर चन्द ८ महिने प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री रहेकै बेला २०६० सालमा राप्रपाको महाधिवेशन सम्पन्न भयो ।
महाधिवेशन मार्फत पशुपतिशम्शेर राणामाले राप्रपाको नेतृत्व सम्हाले । सूर्यबहादुर थापा भूमिकाविहीन भए । तर, ज्ञानेन्द्रको आशिर्वादमा सूर्यबहादुर थापा फेरि प्रधानमन्त्री भए । तर, थापा नेतृत्वको सरकार सात महिनामै ढल्यो ।
शाही कदलमले फेरि फुट
पार्टीमा भूमिकाविहीन भए पनि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफ्नो नेतृत्वको सरकार ढलेपछि बृहत राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । यो समितिमा कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेता थिए । तर, कमल थापा भने फेरि पशुपति शम्शेर राणाको गुटमा फर्किएर महामन्त्री बन्ने ।
लगत्तै कमल थापाले २०६१ माघ १९ मा ज्ञानेन्द्रको शाही कदम समर्थन गरेपछि राप्रपा फेरि फुटको संघारमा पुग्यो । शाही कमदमलाई समर्थन गरेपछि २०६२ मा कमल थापा ज्ञानेन्द्र सरकारको गृहमन्त्री बने । शाही कदमको समर्थनपछि राप्रपामा विवाद उत्पन्न भयो । लगत्तै कमल थापाले २०६२ सालमा विशेष महाधिवेशन बोलाएर राप्रपा नेपाल गठन गरे । सूर्यबहादुर थापाले भने राष्ट्रिय जनशक्ति पार्टी बनाए ।
दोस्रो जनआन्दोलनपछि पूर्व पञ्चहरु फेरि एक ठाउँमा
२०६२/६३ को जनआन्दोलन चलिरहेको बेला राप्रपाका नेतृत्व तीन शक्तिमा विभाजित थिए । पशुपति शम्शेर राणाको नेतृत्वमा राप्रपा, सुर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी र कमल थापाको नेतृत्वमा राप्रपा नेपाल थियो । तीनै पार्टीले २०६४ सालको संविधानसभा निर्वाचनमा सहभागीता जनाए । तर, तीनै पार्टीको बेहाल भयो । राप्रपाले आठ, राप्रपा नेपालले चार र जनशक्तिले तीन सिट मात्र जित्यो ।
त्यसपछि भने पूर्व पञ्चहरुको एकता प्रकृया फेरि सुरु भयो । २०६९ सालमा जनशक्ति र राप्रपाबीच एकीकरण भएपछि राप्रपा बन्यो । त्यसपछि राप्रपाको नेतृत्व पशुपति शम्शेर राणाले पार्टीको नेतृत्व पाए । तर, विवाद भने रही नै रह्यो । यतिकैमा दोस्रो संविधानसभाको निर्वाचन भयो ।
प्रत्यक्ष निर्वाचनमा एक सीट पनि हात नपारेको दोस्रो संविधानसभामा समानुपातिक मतका आधारमा कमल थापा शक्तिमा आए । कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक तर्फ २५ सिट जित्यो । तर, राप्रपाले भने १३ सिट मात्र जित्यो ।
सूर्यबहादुर थापाको निधन भएपछि २०७३ साल कातिक ३० गते राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पूर्व पञ्चहरु फेरि एक भए । एकता महाधिवेशनपछि कमल थापा अध्यक्ष निर्वाचित भए । तर, नेता प्रकाशचन्द्र लोहनी भने २०५४ सालमा लोकेन्द्रबहादुर चन्दले गठन गरेको राप्रपा राष्ट्रवादीलाई निरन्तरता दिदै बाहिरिए । तर, २०७४ साल साउन २२ गते फेरि राप्रपा फुटेको छ । पशुपति शम्शेर राणाको नेतृत्वमा फेरि राप्रपा प्रजातान्त्रिक गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस्