दोलखा, १८ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गएकोमा चिन्ताजनक भएको बताउनुभएको छ ।
अधिकांश सामुदायिक विदालयको शैक्षिक स्तर सन्तोषजनक नभएको भन्दै उपराष्ट्रपति पुनले सामुदायिक विद्यालयमा सरकारको लगानी अनुसारको उपलव्धी नभएकाले आमूल सुधारको खाँचो औंल्याउनुभयो ।
दोलखाको शैलुङस्थित शारदा माध्यामिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले ग्रामीण भेगका अधिकांश बालबालिकाको उज्ज्वल भविष्यको ढोका खोल्ने सामुदायिक विद्यालयको शैशिक स्तर सुधारका लागि पहल आवश्यक रहेको बताउनुभयो ।
शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउनुपर्नेमा जोड दिँदै उपराष्ट्रवपति पुनले सक्षम, प्रतिस्पर्धी नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नतिर लागिपर्न सबैको ध्यानाकर्षण गर्नुभयो ।
भूकम्प गएको तीन वर्षसम्म पनि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरोमै हुनु ज्यादै दुःखद भएको भन्दै उहाँले भूकम्पले क्षति भएका नीजि घर, सरकारी संरचना, विद्यालय भवनलगायत सबै संरचनाको पुनर्निर्माणलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सोही अवसरमा उपराष्ट्रपति पुनले भवनको उद्घाटन पनि गर्नुभयो । सिंगापुर रेडक्रस सोसाइटीको अढाई करोड सहयोग र दयालु हातहरु नेपालको संयोजनमा बनेको भवनमा १२ कोठा छन् । कार्यक्रममा स्थानीय नेता तथा अभिभावक, विद्यार्थीको सहभागिता थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को सम्बोधनको पूर्णपाठ–
सर्वप्रथम पर्यटकीय क्षेत्र शैलुङमा आयोजित ‘शारदा माध्यामिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन तथा समुदायलाई हस्तान्तरण’ कार्यक्रममा भूकम्पको पीडाबाट जुरमुराउन थाल्नुभएका दोलखाबासी आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरुसँग भेटघाट गर्ने अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।
२०७२ वैशाख १२ गतेको भूकम्पले विद्यालयको भवन भत्किएपछि ठूलो मेहनत र प्रयासबाट सुविधा सम्पन्न भवन निर्माण भएकोमा शारदा माध्यामिक विद्यालय व्यवस्थान समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरुमा म बधाई ज्ञापन गर्न चाहान्छु । यो भवन निर्माण गरिदिने सिंगापुर रेड क्रस र दयाका हातहरु नेपाललाई विशेष धन्यवाद दिन चाहान्छु । मलाई विश्वास छ, शैलुङवासीहरुले तपाईंहरुले गर्नुभएको यो विशेष योगदानको सधै स्मरण गरिरहनु हुनेछ ।
पर्यटकीय क्षेत्र शैलुङ आउन पाउँदा म अत्यन्त हर्षित छु । कुन्ति मोक्तानले गाउनुभएको ‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई’ भन्ने गीत मैले आज विशेष स्मरण गरिरहेको छु । कुन्ति मोक्तानको गीतमा वर्णन गरिएको नेपालकै रमणीय पर्यटकीय स्थल शैलुङ आफैमा अत्यन्त सुन्दर छ । यस्तो सुन्दर ठाउँमा पाइला टेक्न पाउँदा मैले ज्यादै गौरवको अनुभूतिसमेत गरिरहेको छु ।
प्रकृतिले हामी नेपालीलाई अनुपम उपहार दिएको छ । दोलखा जिल्ला आफैमा रमणीय र पर्यटकीय जिल्ला हो । दोलखाको यो पहिचान बन्नुमा शैलुङको उच्च भूमिका रहेको मैले पाएको छु । म नेपालकै उत्कृष्ट पर्यटन गन्तव्य स्थल भएकोमा आदरणीय शैलुङवासीहरुलाई गौरव गर्न आग्रह गर्दछु ।
प्रकृतिले हामीलाई जसरी अनुपम उपहार दिएको छ, कहिले काहीं सजाय पनि दिने गरेको छ । हामीले तीन वर्ष अगाडि विनाशकारी भूकम्पको सामना ग¥यौँ । मानवीय रुपमा कम भए पनि भौतिक संरचनाका हिसाबले दोलखाले करिब शतप्रतिशत क्षति व्यहो¥यो । भूकम्पले हाम्रा घर भत्किए, विद्यालय भवन भत्किए, स्वास्थ्य संस्था भत्किए, सरकारी संरचना भत्किए, आफन्तहरु गुमे । तर, हाम्रा मनहरु धलेनन्, आशाहरु मरेनन् । र, आज हामी यो अवस्थामा उभिएका छौँ । अगाडि बढ्ने कोशिस गरिरहेका छौँ ।
भूकम्पले झण्डै आठ हजार हाम्रो शैक्षिक मन्दिरहरु भत्किए । सरकार, दातृ निकाय, गैर सरकारी संस्था र विभिन्न व्यक्तिहरुको सहयोगमा झण्डै तीन हजार छ सय विद्यालयका भवन निर्माण भईसकेका तथ्याङक हामीसँग छ । झण्डै एक हजार सात सयवटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा छन् । यसै क्रममा यस विद्यालयको भवन पनि निर्माण सम्पन्न भई समुदायलाई आज हस्तान्तरण भएको छ । यससँगै भूकम्पबाट दोलखामा तीन सय ६६ वटा विद्यालय भवनमा क्षति भएकोमा एक सय २० भन्दा बढी विद्यालयको भवन निर्माण सम्पन्न भएको मैले जानकारी पाएको छु ।
अझै दोलखामात्रै होइन, भूकम्प प्रभावित अन्य जिल्लाका कतिपय विद्यालयहरुको पठन पाठन अस्थायी टहरोमै भईरहेका छन् । भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि हाम्रा स–साना बालबालिकाहरुका् पठन पाठन अस्थायी टहरोमै हुनु ज्यादै दुःखद कुरा हो । म यस अवसरमा दोलखा लगायत भूकम्प प्रभावित जिल्लाहरुमा निर्माणाधीन विद्यालय भवनलाई छिटो सम्पन्न गर्न र निर्माण प्रारम्भ नभएका विद्यालयहरुको भवन निर्माण कार्य चाँडो सुरु गर्न र जनताका घरहरु पनि छिटो भन्दा छिटो निर्माण हुने वातावरण बनाउन सरकार लगायत सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
सभ्य समाज र समृद्ध नेपाल निर्माणका लागि हामीलाई शिक्षित र दक्ष जनशक्तिको खाँचो पर्छ । दक्ष तथा शिक्षित जनशक्ति तयार पार्ने प्रमुख जिम्मेवारी शैक्षिक संस्थाहरुको हो । नयाँ संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पुहँचको हक, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको ग्यारेन्टी गरेको छ । सर्वसुलभ शिक्षा र शिक्षामा समान पहुँच प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार भएकाले शिक्षाको उज्यालोबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था रहनु हुँदैन ।्
नेपालमा शिक्षामा सहभागीता सरकारको भन्दा पहिले समुदायको भएको पाईन्छ । नेपालको शैशिक विकासमा समुदायको अतुलनीय योगदान छ । तर अहिले अधिकांश सामुदायिक विद्यालयको शैक्षिक स्तर सन्तोषजनक देखिदैन । ग्रामिण भेगका अधिकांश बालबालिकाको उज्ज्वल भविष्यको ढोका खोल्ने सामुदायिक विद्यालयको शैशिक स्तर सन्तोषजनक नहुनु चिन्ताको विषय हो । महंगो शुल्क लिइरहेका नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्नुपरिरहेको सन्दर्भमा कतिपय सामुदायिक विद्यालयले नीजि विद्यालयलाई उछिन्दै शैक्षिक क्षेत्रमा नमूना प्रस्तुत पनि गरिरहेका छन् । यो हाम्रा लागि सुखद पक्ष हो । सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको बजेटको हिसाब गर्दा प्रति विद्यार्थी १३÷१४ हजार रुपियाँ पर्न जान्छ । तर पनि सामुदायिक विद्यालयको प्रगति खस्कदो छ । यो दुःखद पक्ष हो । यसमा आमूल सुधारको आवश्यकता देखिन्छ ।
अब हामीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा ध्यान दिनैपर्दछ । सामुदायिक विद्यालयको मात्रै होइन हामीले नेपालको आम शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार ल्याउनुको विकल्प छैन । हामीले हाम्रा बालबालिकाहरुलाई व्यवाहारिक र वैज्ञानिक शिक्षा दिनुपर्दछ । हाम्रो शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नतिर लागिपर्न म सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
मलाई विश्वास छ, यो शारदा माध्यामिक विद्यालयले शैक्षिक गुणस्तरीयतामा उल्लेख्य सुधार गर्दै उदाहरणीय बन्नेछ । निश्चय पनि भूकम्पले भवन भन्किएपछि यहाँको शैक्षिक गतिविधिमा नराम्रो असर प¥यो । अब यो भवन निर्माण भएसँगै यस विद्यालयको पठन पाठन उदाहरणीय रुपमा अगाडि बढ्ने अपेक्षा समेत लिएको छु ।
मैले अघि पनि भने भौतिक संरचनाको क्षतिको हिसाबले दोलखा भूकम्पबाट सबै भन्दा प्रभावित जिल्ला हो । झण्डै ६२ हजार घर क्षति भएकोमा तीन वर्षको अवधिमा २० हजार घर पुनर्निर्माण सम्पन्न भएको, २४ हजार घर निर्माणाधीन अवस्थामा रहेको र १८ हजार घर निर्माण सुरु हुनै बाँकी रहेको बारे म जानकार छु । यो तथ्याङ्कले पुष्टि गर्दछ की दोलखाका अधिकांश भूकम्प पीडितहरु अझै पनि अस्थायी घरमै हुनुहुन्छ । मैले यहींबाट पनि देखिरहेको छु, शैलुङबासी, भैसे बासी दिदी–बहिनी तथा दाजुभाईहरु अस्थायी टहरोमै हुनुहुन्छ ।
भूकम्प गएको तीन वर्षसम्म पनि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरोमै हुनु ज्यादै दुःखद कुरा हो । पुनर्निर्माणको कामले अपेक्षित गति लिन नसक्नु ज्यादै चिन्ताको विषय हो । भूकम्पले क्षति भएका नीजि आवास, सरकारी संरचना, विद्यालय भवनलगायत सबै संरचनाको पुनर्निर्माणलाई तिव्रता दिन सरकारलगायत सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
हामीले ठूल–ठूला राजनीतिक संघर्षहरु ग¥यौँ । विनाशकारी भूकम्प लगायत ठूल–ठूला प्राकृतिक विपत्तिहरुको सामना ग¥यौँ । र, सबै खाले संघर्षपछि हामी अहिले समृद्धिको दिशामा अगाडि बढेका छौँ । अब नेपालीको एकमात्र साझा लक्ष्य आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने हो । नेपालको समृद्धिको यात्रामा दोलखाको उच्च योगदान रहनेमा कुनै शंका छैन । किनकी दोलखा आफैमा ‘हाइड्रोको हव’ हो । ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा छ । ६५० मेगावाटको तामाकोशी तेस्रो निर्माणको मागसमेत उठिरहेको छ । दोलखा आफैमा पर्यटकीय क्षेत्र पनि हो । हाइड्रो र पर्यटनको माध्यामबाट दोलखा आफू पनि समृद्ध बन्नेछ र सिंगो नेपालको समृद्धिको लागि योगदान दिनेछ भन्नेमा म विश्वस्त छु ।
अन्त्यमाः मलाई यस कार्यक्रमको अवसरमा पर्यटकीय क्षेत्रमा आमन्त्रण गरेर न्यानो स्वागत गर्नुभएकोमा आयोजक संस्थालाई धन्यवाद दिन चाहान्छु । यो विद्यालय निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई पुनः धन्यवाद दिंदै शारदा माध्यामिक विद्यालय यस क्षेत्रको गुणस्तरीय शिक्षाका लागि नमूना विद्यालय बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
प्रतिक्रिया दिनुहोस्