विश्व शान्तिको तपोभूमि । आस्थाको प्रतिक, पवित्रताको अनुपम नमुना । विश्वका बौद्धमार्गी समुदायको बन्नैपर्ने गन्तव्य । लुम्बिनी । गौतम बुद्धको जन्मस्थल । कसैले भगवान मान्लान, कसैले दार्शनिक मान्लान् । कुनै विवाद छैन । बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको प्रतिक भएकोमा दुई मत छैन । नेपाललाई विश्वमा चिनाउने दुई चिज त छन् । उत्तरमा हिमालय श्रृंखला र सर्वोच्च शिखर सगरमाथा अनि दक्षिणमा शान्तिको पवित्र भूमि लुम्बिनी । सगरमाथाको नाममा कसैले विवाद बनाउन सकेन । तर, लुम्बिनी र यसको पवित्रतालाई बारम्बार बिटुलो पार्ने काम दक्षिणी हावाले गरिरहेको छ । बेलाबेलामा दक्षिणतिरबाट आएको भुईंकुहिरोले ढपक्कै ढाकेर लुम्बिनीबारे भ्रमित गराइरहेको छ विश्वलाई ।
अनेकौं आस्था र विश्वासका कारण विश्व शान्तिको पवित्रस्थलको रुपमा विकसित हुँदै गरेको बुद्धजन्मस्थल लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकहरु दिनदिनै बढ्दै छन् । सन्तोष मान्नुपर्ने यही नै छ । वृहत गुरुयोजनासहित लुम्बिनीलाई विश्वका अर्बौ बौद्धमार्गी समुदाय र शान्तिप्रिय करोडौं मानिसको पवित्र तिर्थस्थल बनाउन भने हामीले गर्नुपर्ने काम धेरै बाँकी छ ।
हुन त, लुम्बिनीको मुहार फेरिँदै जाँदा लुम्बिनी आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७३/७४ मा साढे १३ लाख पर्यटक लुम्बिनी भित्रिए । तिमध्ये १० लाख आन्तरिक पर्यटक, २ लाख भारतीय पर्यटक र १ लाख ४० हजार पासपोर्टधारी तेस्रो मुलुकका पर्यटकहरु लुम्बिनी पुगे । पर्यटकहरु लुम्बिनी आउने क्रम रोकिएको छैन । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा यो संख्या बढ्नेछ । पर्यटक बढ्ने वित्तिकै राजस्व पनि स्वभाविक रुपमा बढ्ने नै भयो । जारी लुम्बिनी गुरुयोजना पुरा गर्न सक्ने हो भने, विश्वमा रहेका करिब एक अर्ब ५० करोड बौद्धमार्गी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल लुम्बिनी बन्नेमा शंका छैन । शंका त खाली राज्य र मातहतका निकायहरुको प्रष्ट भिजनमा मात्रै हो ।
लुम्बिनीको ख्यातिका बारेमा अब त्यति धेरै बोल्न पर्दैन । तर बुद्धसँग जोडिएका कपिलवस्तुका तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान, अरौराकोट, सगरहवा, रुपन्देहीकै देवदहमा रहेको बुद्धको मावली र बुद्धका अस्तुधातु राखिएका ८ स्थानमध्येको एक नवलपरासीको रामग्राम समेटेर बनाउनुपर्ने बृहत्तर लुम्बिनी सर्किटबारे धेरै पटक बोलिरहन आवश्यक छ । यी ठाउँमा अन्वेषण र उत्खनन जरुरी छ । पर्यटन प्रवद्र्धनका लागि बुद्ध सर्किटका रुपमा यी ठाउँलाई समेत समावेश गरेर पर्यटन सम्बद्ध निकायले प्याकेजमा मार्केटिङ गर्न जरुरी छ । तर, त्यो भन्दा पहिला भौतिक पूर्वाधारको विकास त अनिवार्य शर्त हो ।
लुम्बिनी र आसपासका क्षेत्रको विकास गर्न गठित लुम्बिनी विकास कोषले सन् २००२/२००३ तिर जम्माजम्मी २८ हजार रुपैयाँ आन्तरिक आम्दानी गथ्र्यो । अलिकति मात्र सुधार गर्नसक्ने हो भने अहिल्यै पनि ४० करोड आम्दानी गर्न सक्ने हैसियत बनाइसकेको छ विकास कोषले । यदि साँच्चै नै लुम्बिनीको मुहार फेरिने हो र बृहत्तर लुम्बिनी सर्किट बन्ने हो भने नेपालमा धार्मिक र आत्ध्यात्मिक पर्यटनमार्फत राष्ट्रिय अर्थतन्त्रको पारोलाई माथि उकास्न मुस्किल पर्दैन ।
यसो हुनाको कारण लुम्बिनीमा आएको परिवर्तन हो । लुम्बिनीप्रति विश्वको चासो बढ्दै जानु, लुम्बिनीप्रति पर्यटन व्यवसायीको लगाव बढ्नु आदि कारणले लुम्बिनीको प्राचिन महत्व, वर्तमानको वैभव र भोलिको समृद्ध लुम्बिनीको सुखद भविष्यको रेखाचित्र स्पष्ट देखिन्छ । तर, यो रेखाचित्रलाई व्यवहारमा उतार्न राज्य र सम्बन्धित पक्षबाट गम्भीर पहल हुन बाँकी छ ।
लुम्बिनी योजना
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले परिकल्पना गरेको लुम्बिनी योजना धेरै वर्ष अघि पुरा हुनुपर्ने हो । राष्ट्रिय गौरबको योजना रहेको लुम्बिनीको काम भने कछुवा गतिमा भैरहको छ । राज्य सक्षम छैन भने सहयोगी हातहरुलाई राष्ट्रहित अनुकुल हुनेगरी स्वीकार गर्नुपर्ने हो । तर नत, विभागीय पर्यटन मन्त्रालय सक्रिय बनेको छ, नत सरोकारवाला लुम्बिनी विकास कोषलाई सक्षम र सुदृढ बनाउन सकेको छ । विकास कोषभित्र बारम्बार भैरहने राजनीतिक हस्तक्षेपका कारण आयोजनाहरु अझै पनि अलपत्र छन् । सरकार परिवर्तन भए आफ्ना मान्छे भर्ति गर्नुपर्ने दरिद्र मानसिकता छ, राजनीतिक नेतृत्वमा । ‘क्वालिफाइड’ व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा अक्षम नेतृत्वको बोलवाला छ । कोषभित्रको खिचातानीका कारण गुरुयोजनाका काम समयमा सम्पन्न हुन सकेका छ्रैनन् ।
संस्कृतिविद् डा. गितु गिरीका अनुसार १४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि लुम्विनी विकास कोषको प्रतिवद्धता र जिम्मेवारीबोधको अभावकै कारण गुरुयोजनाले गति लिन सकेको छैन । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले पनि योग्य र दक्ष पदाधिकारीको अभावमा लुम्बिनी गुरु योजना निर्माणको काममा ढिलाई हुनु नेपालका लागि लज्जाजनक अवस्था भएको बताउँछन् ।
भारतको कर्के नजर र बुद्ध सर्किट
नेपालको लुम्बिनीप्रति दक्षिणी भारत कहिल्यै सकारात्मक छैन । तर, लुम्बिनीमा निरन्तर चासो बढाइरहेको छ । भारतभित्रै भने प्रधानमन्त्री नरेन्द्र मोदीकै निर्देशनमा भारतमा रहेका बौद्धस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि नयाँ योजनाहरु बनेका छन् । र, ती योजनाभित्र लुम्बिनीलाई समावेश गर्ने भारतीय चाहना बारम्बार सार्वजनिक भैरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजना भारतका बुद्धस्थल र नेपालको लुम्बिनी मिलाएर बुद्ध सर्किट बनाउने छ । मोदीको योजनाअनुसार भारतले बुद्ध सर्किटको अवधारणालाई अघि बढाइसकेको पनि छ । भारतले बुद्ध सर्किटमा लुम्बिनीलाई पनि समेट्दै बोधगया, सारनाथ, कुशिनगर लगायतका ठाउँलाई समेट्दै सर्किटमार्फत लुम्बिनी जोड्ने रणनीति बनाएको छ । विश्वभरका बौद्धमार्गी पर्यटकहरुलाई भारतमा आकर्षित गर्न सहज मार्केटिङ हुने सहज कारणले नै लुम्बिनीलाई बुद्ध सर्किटमा जोड्ने उद्देश्य भारतले लिएको प्रष्टै बुझ्न सकिन्छ ।
भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब ७०० किलोमिटर क्षेत्र समेटेर बुद्ध सकिर्ट बनाउने कामलाई तीब्रता दिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, शिष्यलाई पहिलोपटक बुद्धत्वबारे प्रवचन दिएको सारनाथ र देहत्याग गरेको कुशीनगरसँग जोड्ने गरी बौद्ध सकिर्ट बनाउन काम भैरहेको छ । यो सर्किटमा बुद्धजन्मस्थल लुम्बिनीलाई पनि समेट्दा भारतको बौद्ध पर्यटनले छलाङ मार्नेछ । यसैका लागि सातसय किलोमिटर छुनेगरी नयाँ सडक र रेलमार्गको विस्तार, पाँच तारे होटलहरु, विमानस्थल निर्माण गर्ने योजनामा वर्षेनी अर्बौ भारतीय रुपैयाँ विनियोजन भैरहेको छ ।
तर, भारतीय योजनाअनुसार बुद्ध सर्किट बनाउन अनुमति दिने हो भने मात्र लुम्बिनीको अवस्थामा त परिवर्तन आउला कपिलवस्तु र देवदह, रामग्राम लगायतका नेपाली बौद्ध भूमि थप ५० वर्ष पछि पर्ने निश्चित छ । अर्थात, बृहत्तर लुम्बिनीमा यो सर्किटले कुनै योगदान दिनेछैन । यसो भन्नका लागि तार्किक आधारहरु छन् । पर्यटन र सम्पदा प्रवद्र्धनमा नेपालको रवैया भोलि पनि यही रहेमा बुद्ध सर्किटका लागि सम्पूर्ण प्याकेज डिल भारतमा हुनेछ । अहिले पनि, तेस्रो मुलुकका बौद्धमार्गी पर्यटकहरु नेपालमा भन्दा भारतमा बढी भ्रमण गर्ने गरेका छन् । भारतीय टुर अपरेटर्सहरुले गर्ने सर्किट अन्तर्गतको त्यो प्याकेज डिलमा नेपालमा पर्यटकको बसाई बढीमा एक रातको मात्र हुनेछ । त्यो एक रातको बसाईमा लुम्बिनी त पुरै घुम्न सकिँदैन । कपिलवस्तु र देवदह रामग्रामको त कुरै नगरौं ।
त्यसो त, स्थलमार्गमध्ये सबैभन्दा बढी पर्यटक भित्रने नाका बेलहियाबाट लुम्बिनीका लागि सबैभन्दा धेरै पर्यटकरु आउने गर्छन् । यसरी घुम्न आउने पर्यटकमध्ये धेरैजसो लुम्बिनी पुग्छन् । यसमा पनि श्रीलंकाबाट आउने पर्यटकहरु धेरै हुन्छन् । भारत हुँदै नेपाल प्रवेश गर्ने यि पर्यटकहरु नेपालमा केही घण्टा वा मुस्किलले एक रात बिताउँछन् र पुनः भारत फर्किन्छन् । बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई अध्यागमनमा समेत नओराली सिधै लुम्बिनी पुरÞ्याइन्छ, दुईचार घण्टा घुमाइन्छ । पर्यटकहरुको सम्बन्ध नेपालसँग सिधै जोडिदैन । भारतीय टुर अपरेटर्सले नै लुम्बिनी पुरÞ्याउँछन, घुमाउँछन् र फर्काउँछन् । नेपाली पर्यटन व्यवसायी, टुर अपरेटर्स, होटल व्यवसायीहरुसँग उनीहरु कतैबाट पनि जोडिन्नन् । यसरी आउने पर्यटकहरुलाई लुम्बिनीकै बारेमा गलत सूचना सम्प्रेषण हुने गरेको भन्दै नेपाली पर्यटन व्यवसायीहरुले भने चिन्ता व्यक्त गर्ने गरेका छन् ।
अहिले नै यस्तो अवस्था छ भने भोलिका दिनमा लुम्बिनीलाई भारतीय सर्किटभित्र पारिसके पछिको लुम्बिनी पर्यटन कस्तो होला ? अहिलेकै अवस्थामा यो सर्किटबाट नेपालको पर्यटन व्यवसायमा के प्रभाव पर्ला ? अब हामी आँफै विश्लेषण गरौं ।
नेपालको कमजोरी
बुद्धले भारतमा बुद्धत्व प्राप्त गरे, भारबाटै बुद्धत्वको प्रचारप्रसार सुरु गरे, र देहत्याग समेत भारतमै गरे । यसमा कसैको विरोध छैन । तर, बुद्धको शैशवकालदेखि युवाकाल बुझ्न सकिएन बुद्धको बारेमा अपुरो बुझाइ हुनेछ । लुम्बिनी घुम्न आउने पर्यटकलाई यसकारणले पनि लुम्बिनीसहित तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा लगायत कपिलवस्तुका बौद्धक्षेत्र, बुद्धको मावली देवदह र बुद्धको अष्ट धातु रहेको विश्वास गरिएको नवलपरासीको रामग्राम घुम्ने वातावरण बनाइनुपर्छ । यी सबै क्षेत्रलाई समावेश गरेर नेपालले पहिल्यै बुद्धसर्किट बनाउनुपथ्र्यो, तर, नेपाल त्यो काम गर्न सकेन । बरु, अझै पनि बुद्ध जन्मस्थल नेपाल हो भनेर विश्वस्तरमा प्रचार गर्नुपर्ने हिनताबोधबाट ग्रसित छ हाम्रो मानसिकता ।
चर्चाको चरणमा रहेको भारतीय बुद्ध सर्किटको योजना आज कार्यान्वयनको चरणमा प्रवेश गर्दै गर्दा नेपाललाई भने आफ्नै सम्पदा चिन्ने फुर्सद मिलिसकेको छैन । भारतीय सम्राट अशोकले बुद्ध जन्मभूमि नेपाल भएको अकाट्टय प्रमाण दिँदा दिँदै हामीले त्यो प्रमाणलाई बलशाली बनाउन सकेनौं । बरु, छिमेकी भारतले नक्कली तिलौराकोट र लुम्बिनी खडा गर्दै दुनियाँलाई लामो समय भ्रमित बनाउन सफल भयो ।
स्वदेशी सर्किट
भारतले प्रस्ताव गरेको बुद्ध सकिर्टमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने विश्लेषण गरिएको छ । बुद्ध सकिर्टमा लुम्बिनीलाई मात्रै समावेश गरे बुद्धसँग अन्यौयाश्रित जोडिएका तिलौराकोट, देवदह लगायतका क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने विश्लेषण गरिएको हो । ती क्षेत्रमा आउने पर्यटकलाई पनि नेपालले गुमाउनुपर्ने हुनसक्छ । यसकारण तिलौराकोट, देवदह र रामग्राम क्षेत्र बुद्ध सकिर्टमा नराख्ने हो भन्ने भारतसँग जोडिनुको कुनै अर्थ छैन, बरु नेपाली आफैले बौद्ध सकिर्ट बनाएर विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार लुम्बिनी विकास कोषको अहिलेको मुख्य काम सँगसँगै बृहत्तर लुम्बिनी गुरुयोजनाअन्तर्गत कपिलवस्तु र नवलपरासीका बुद्धसम्बद्ध सांस्कृतिक सम्पदाहरुलाई समेत जोड्ने काममा कोष अघि बढिरहेको छ ।
‘लुम्बिनीलाई केन्द्र मानेर बाँकी (बौद्धिष्ट साइट)हरुलाई कसरी जोड्ने भन्नेमा हाम्रो चिन्ता हुनुपर्छ’ कोषका योजना अधिकृत भट्टराई भन्छन, ‘सडकको लिङ्क मात्र नभएर भावना, संस्कृति, धर्म, संस्कार सबैमा लिङक गर्न सके मात्र बुद्ध सर्किटले पूर्णता पाउँछ ।’
प्रस्तावित भारतीय बुद्ध सर्किट लुम्बिनीको विकासका लागि पनि फलदायी हुनसक्ने विश्वास नेपालमा सरकारीस्तरबाट गरिएको भए पनि लुम्बिनीलाई मात्र जोड्दा यसले उल्टो असर पर्ने स्पष्टै छ । कोषका योजना अधिकृत सरोज भट्टराईका अनुसार भारतले सुरु गरेको बुद्ध सर्किट यदि लुम्बिनीसम्म जोडिएमा हामीले नेपालभित्रका सर्किटहरु जोड्नका लागि आँफै पहल गर्नुपर्छ र त्यसका लागि पूर्वाधारहरु तयार गर्नुपर्छ ।
पहिलो चरणमा, प्रस्तावित सकिर्टमा कम्तिमा पनि बुद्धले युवावस्था बिताएको कपिलवस्तुको तिलौराकोट र बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम जोड्न सक्ने हो भने मात्र त्यसबाट नेपाललाई फाइदा पुग्नेछ ।
अवरोध भौतिक पूर्वाधार
करिब ५० किलोमिटर क्षेत्रभित्र पर्ने बुद्धसँग जोडिएका क्षेत्रमा पुग्ने भौतिक पूर्वाधार अस्तव्यस्त हुनु नेपालका लागि दुर्भाग्य हो । यो दुर्भाग्य भारतीय वा चिनियाहरुले निम्त्याएका होइनन्, नेपालले नै बनाएको हो । लुम्बिनी क्षेत्रभित्रको गुरुयोजना अझैसम्म पुरा हुन सकेको छैन । सरकारले राष्ट्रिय गौरवको योजनाभित्र पारेपछि केही गति लिएको गुरुयोजना पुरा भएपछि मात्र भौतिक अवस्थामा सुधार हुनसक्छ । तर, लुम्बिनीलाई केन्द्र मानेर तिलौराकोट र देवदह रामग्रामसम्मको क्षेत्रलाई नै विकास गर्न नसक्ने हो भने भोलिका दिनमा लुम्बिनीमा बुद्ध जन्मेका हुन् भनेर मात्र हामीले चित्त बुझाउनु पर्ने निश्चित छ । बुद्धसँग सम्बन्धित अन्य सबै विषयहरु कागजमै मात्र सीमित हुनेछन् । नेपालको पर्यटन व्यवसाय ५० वर्षभन्दा पछि पर्ने छ । हिन्दुका लागि चारधाम, मुस्लिमका लागि मक्का मदिना, क्रिश्चियनका लागि रोम भएजस्तै बौद्धिष्टहरुका लागि लुम्बिनी बनाउने परिकल्पना केवल परिकल्पनामा सीमित हुनेछ ।
लुम्बिनी विकास कोषले बुद्ध सम्बद्ध संरचनाहरुको संरक्षणका लागि अहिले कपिलवस्तु र नवलपरासीमा केही काम गरेको छ । कपिलवस्तुको तिलौराकोटमा कोष, पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयका पुरातत्ववेत्ताहरुले उत्खनन जारी राखेका छन् ।
लुम्बिनीको ऐतिहासिक महत्वका बारेमा बुझन अशोक स्तम्भ जति आधिकारिक छ, कपिलवस्तुका गोटिहवा र निग्लिहवामा रहेका अन्य दुई अशोक स्तम्भ, कुदान र तिलौराकोटबारे चिनिया यात्रीहरुले गरेको वर्णन उत्तिनै महत्वपूर्ण छ । इस्वीको पाँचौं शताब्दीमा चिनिया यात्री फा–स्यान र सातौं शताब्दीमा या यान–च्वाङको वर्णनले लुम्बिनी र आसपासको इतिहासलाई जीवित राख्न मद्दत मिलेको छ । यिनीहरुको यात्रा विवरणको आधारमा नै बुद्ध जन्मस्थल लुम्बिनी, गृहनगर तथा शाक्यहरुको राजधानी कपिलवस्तु, रामग्रामलगायत बुद्ध तथा बौद्ध धर्मसँग सम्बन्धित पुरातात्विक क्षेत्रको खोजीकार्य गर्न सहयोग पुगेको लुम्बिनी विकास कोषको ठहर छ । बुद्ध तथा बुद्ध दर्शन र बुद्ध धर्मप्रति सयौंवर्षदेखि गरिएका अध्ययन अनुसन्धानले लुम्बिनी, तिलौराकोट र साथमा बुद्धको मावली देवदह र रामग्रामलाई संयुक्त रुपमा पवित्र स्थानको रुपमा रहेको विश्वास गरिन्छ ।
अहिलेसम्मका अध्ययनबाट पवित्र मानिएका यी स्थानमा पुग्न अहिल्यै पनि कतिपय विदेशी पर्यटक इच्छुक छन् । तर, यी ठाउँसम्म पुग्ने राम्रो सडक छैन । आन्तरिक हुन वा बाह्य सबैप्रकारका पर्यटक, बौद्ध भिक्षुहरुको चाहना पुरा गर्न सक्ने अवस्था तत्कालका लागि छैन । भौतिक पूर्वाधारको अभावमा एउटै प्याकेजमा राखेर लुम्बिनी, तिलौराकोट र देवदह रामग्राम घुम्न नपाउँदा पर्यटकहरु खिन्न बन्छन् । सामान्य सडक सञ्जालले छोएपनि रातै बिताउनका लागि आवश्यक पूर्वाधार छैनन् । नत, राम्रो सडक सुविधा छ, कसैगरी ती ठाउँमा पुगेपनि विश्राम गर्ने उपयुक्त विश्रामस्थल (होटल)हरु नै छन् ।
लुम्बिनी पश्चिम र लुम्बिनी पुर्वमा रहेका यी पवित्र स्थानहरुलाई एउटै बास्केटमा राख्न सकियो भने मात्र लुम्बिनीको थप प्रचारप्रसार हुने निश्चित छ । तर, यसका लागि राज्यस्तरबाट अभूतपूर्व कामको अपेक्षा गरिएको छ । ‘देशैभरका बौद्ध संस्कृति र सम्पदाको संरक्षण सम्बद्र्धन गर्न योजना बनाइरहेका छौं’ भट्टराई भन्छन, ‘अहिले बुद्धिष्ट साइटहरुलाई समेट्ने गरी अध्ययन र अन्वेषण गर्दैछौं । त्यसपछि प्राथमिकताका आधारमा काम हुनेछन् ।’
बुद्धसँग जोडिएका यतिधेरै सम्पदा भए पनि बौद्धमार्गीलाई र सबैप्रकारका पर्यटकलाई ती ठाउँमा पुरÞ्याउन सक्ने हैसियत बनिसकेको छैन । अहिलेसम्म लुम्बिनी मात्र बौद्धमार्गीहरुको गन्तव्यस्थल बनिरहेकोमा बुद्धसँग जोडिएका यी सबै क्षेत्रलाई गन्तव्यस्थलको रुपमा विकास गर्न राज्यस्तरबाटै तत्काल पहल गर्नुपर्छ । बुद्ध सर्किटमा जोडिएका सबैस्थलको एकीकृत विकास गर्न सक्ने हो भने मात्र समृद्ध लुम्बिनीको सपना पुरा हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्