काठमाडौ, १३ वैशाख । नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।
चन्दले अवकाश पाएको १५ दिनपछि सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको छ।
आफ्नो नियुक्तिलाई सरकारले खारेज गरी अर्को गैरकानुनी नियुक्ति भएको भन्दै चन्दले गत भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सरकारले २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो। सोही दिन सर्वोच्चले सो निर्णय कार्यान्वायन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एक महिनापछि सो निर्णय खारेज गर्दै कार्यसम्पादन मूल्यांकन आधारमा बढुवा गर्न सर्वोच्चले परमादेश दिएको थियो। सोही अनुसार सरकारले प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो। त्यसविरुद्ध चन्द अदालत गएका थिए। अर्याल र चन्द दुवैले गत चैत २८ गते अवकाश पाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्