काठमाडौं २० जेष्ठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ।
हालैको राजनीतिक घटनाक्रम र निर्वाचन परिणामलाई आधार मान्दै उहाँले आन्दोलनले ठूलो क्षति बेहोरेको टिप्पणी गर्नुभएको हो। उहाँका अनुसार वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था कम्युनिस्ट आन्दोलनका लागि सबैभन्दा चुनौतीपूर्ण चरण हो।
उपाध्यक्ष पौडेलले भदौ २३–२४ का घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले गम्भीर राजनीतिक क्षति भोगेको बताउनुभयो। तर उहाँले यसलाई अन्त्य नभई पुनः उठ्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीलाई पुनः सङ्गठित गर्दै जनताको विश्वास जितेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अबको राजनीतिक कार्यदिशा जनता, कार्यकर्ता र राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।
उपाध्यक्ष पौडेलले कम्युनिस्ट आन्दोलन समाप्त हुने भन्ने टिप्पणीहरूप्रति असहमति जनाउँदै आन्दोलन फेरि उठ्ने दाबी गर्नुभयो। उहाँका अनुसार पार्टीले आन्तरिक कमजोरी सुधार्दै नयाँ ऊर्जा र दृढतासहित अघि बढ्नेछ।
राजनीतिक विश्लेषकहरूले पौडेलको अभिव्यक्तिलाई एमालेभित्रको आत्मसमीक्षात्मक संकेतका रूपमा हेरेका छन्।







प्रतिक्रिया दिनुहोस्