काठमाडौं ५ जेष्ठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद डा. अमरेशकुमार सिंह ले बजेटसम्बन्धी महत्वपूर्ण छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषयलाई लिएर आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सिंहले बजेटमाथिको बहस चलिरहँदा अर्थमन्त्री उपस्थित नहुनु संसदीय परम्पराविपरीत भएको बताउनुभयो।
उहाँले संसद सरकारलाई जवाफदेही बनाउने थलो भएको उल्लेख गर्दै अर्थमन्त्रीबिनै बजेट छलफल चल्नु संसदको गरिमामाथिको प्रहार भएको टिप्पणी गर्नुभयो। “बजेट विनियोजनको छलफलमा अर्थमन्त्री बस्ने परम्परा थियो, तर अहिले त्यो अभ्यास नै भत्काइँदैछ,” उहाँले भन्नुभयो।
सांसद सिंहले “नयाँको नाममा सबै परम्परा भत्काउने काम भइरहेको” भन्दै सरकारप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले आफूले लामो संसदीय अनुभवमा पहिलो पटक अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा बजेटमाथिको छलफल चलेको देखेको दाबी गर्नुभयो।
उहाँको अभिव्यक्तिले सत्तारुढ दलभित्रै सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।








प्रतिक्रिया दिनुहोस्