काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयमा राजनीतिक ‘स्टन्ट’ नगर्न सरकारलाई चेतावनी दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लहडको भरमा लोकप्रियता कमाउने माध्यमका रूपमा अघि नबढाउन सरकारलाई चेतावनी दिएका हुन्।
उनले संविधान प्रत्येक १० वर्षमा पुनरवलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संविधान संशोधन प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। उनले सरकारले ‘मैले गर्न खोजेको थिएँ, फलानाले गर्न दिएन’ भन्ने सन्देश फैल्याउने गरी संशोधनको बहस उठाएको भन्दै आपत्ति जनाए।
उनले संविधान संशोधन कुनै सनक वा हल्लाको भरमा नभई सम्हालिएर गर्नसमेत सुझाव दिए। उनले संविधान संशोधनलाई सहमतिमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी संसद्भित्रैबाट सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे।
संसद्बाटै बन्ने संयन्त्रले संविधान संशोधनको विषयमा साझा धारणा बनाउँदा दलहरुबीच विश्वास र सहकार्यको वातावरण बन्ने उनको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्