काठमाडौं, २९ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री पोखरेलसँग काठमाडौंसहित विभिन्न स्थानमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र सेयर लगानी रहेको उल्लेख गरिएको छ।
सार्वजनिक विवरणअनुसार पोखरेलको व्यक्तिगत नाममा काठमाडौंमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौंकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ उल्लेख गरिएको छ। मोरङमा रहेको १ कठ्ठा जग्गाको मूल्य १ करोड रुपैयाँ रहेको विवरणमा देखाइएको छ।
पारिवारिक सम्पत्तितर्फ उनका बुवाको नाममा काठमाडौंमा ४ आना २ पैसाको घडेरी रहेको छ, जसको मूल्य साढे २ करोड रुपैयाँ रहेको उल्लेख छ। आमाको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा तथा गोकर्णेश्वरमा अर्को डेढ करोड रुपैयाँको जग्गा रहेको देखाइएको छ। साथै, परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र त्यसको मूल्य ५ करोड रुपैयाँ रहेको जनाइएको छ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ आँकलन गरिएको छ। नगदतर्फ २५ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिरबाट प्राप्त आम्दानी तथा पैतृक स्रोतबाट आएको दाबी गरिएको छ।
बैंक मौज्दाततर्फ सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। त्यसैगरी, विभिन्न कम्पनीमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको देखाइएको छ।
सवारी साधनतर्फ बुवाको नाममा ७० लाख रुपैयाँ मूल्यको एउटा ईभी कार र मन्त्री पोखरेलको नाममा झन्डै ४० लाख रुपैयाँ मूल्यको अर्को कार रहेको छ। साथै उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि विवरणमा जनाएका छन्।
यी सबै सम्पत्ति र दायित्व समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको घोषणा गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्