इरान, २९ चैत्र । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् ।
उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका छन् ।
यद्यपि, कुन–कुन विषयमा असहमति भयो भन्ने कुरा उनले खुलाएका छैनन् । उनले भने, ‘क्षेत्रीय विषयहरू र स्ट्रेट अफ होर्मुज जस्ता नयाँ मुद्दा थपिँदा वार्ता अझ जटिल बनेको छ र एकै दिनमा सहमति हुने अपेक्षा गर्न सकिँदैन ।’
यसअघि उनले अमेरिकासँगको वार्ता ‘अविश्वासको वातावरण’ मा सुरु भएको पनि बताएका थिए । ४० दिनको युद्धपछि भएको यस्तो अवस्थामा एउटै बैठकमै सम्झौता हुने सम्भावना निकै कम रहेको उनको भनाइ थियो ।
प्रवक्ता बकाईले इरान, पाकिस्तान र क्षेत्रका अन्य ‘मित्र राष्ट्रहरू’ सँग सम्पर्क र संवाद जारी रहने पनि बताएका छन् । उनले कूटनीतिलाई देशको हित संरक्षण गर्ने निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै ‘कूटनीति कहिल्यै समाप्त नहुने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्