काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति असन्तुष्ट देखिनुभएको छ । उपसभामुख पदमा सहयोग गर्ने आश्वासन दिएर अन्तिम समयमा समर्थन फिर्ता लिएको आरोप उहाँले लगाउनुभएको छ ।
उपसभामुख पदका लागि उम्मेदवारी दिने निर्णय रास्वपाकै प्रस्तावपछि गरिएको भए पनि पछि सो पार्टीले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि शाही असन्तुष्ट बन्नुभएको हो ।
उहाँले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको उल्लेख गर्दै संसद्को ठूलो दलबाट प्रस्ताव आएपछि पुराना र नयाँ राजनीतिक शक्तिबीच सम्भावित ध्रुवीकरणलाई ध्यानमा राखेर उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताउनुभयो ।
शाहीले भन्नुभयो, ‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, पुराना राजनीतिक दल र परिवर्तन खोज्ने शक्तिहरूबीच ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’
उहाँका अनुसार एकातर्फ पुराना राजनीतिक दलहरूले आफूहरूलाई बाइपास गर्दै छलफल अघि बढाइरहेका थिए भने अर्कोतर्फ रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको अवस्था बनेको थियो ।
तर, अन्तिम समयमा रास्वपा पुराना दलहरूसँग एकै कित्तामा उभिएको आरोप उहाँले लगाउनुभयो ।
शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभयो, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्ड फरक भए पनि उनीहरूबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’
उहाँले यस घटनाले राष्ट्रवादी शक्ति र विदेशी प्रभावमा चल्ने शक्तिबीचको विभाजनसमेत स्पष्ट भएको टिप्पणी गर्नुभयो । साथै, रास्वपाले सहयोग गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको आरोप पनि उहाँले दोहोर्याउनुभयो ।
यस घटनापछि संसद्भित्र नयाँ र पुराना राजनीतिक शक्तिहरूबीचको सम्बन्ध तथा आगामी समीकरणबारे थप बहस सुरु भएको छ ।








प्रतिक्रिया दिनुहोस्