रोल्पा । रोल्पा निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन विजयी भएका छन्। उनले २७ हजार ४६० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालराम थापाले १० हजार ८९४ मत पाएका छन् भने नेकपा (एमाले) का गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी) का चुडामणि वलीले ३ हजार ७१४ मत पाएका छन्।
रोल्पामा कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेका थिए। तीमध्ये ६८ हजार ७७६ मत खसेको थियो, जुन करिब ४६.३९ प्रतिशत हो। खसेको मतमध्ये ६५ हजार ६३२ मत सदर भएको छ भने ३ हजार १४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
रोल्पामा विगतका निर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो भने २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो। ती दुवै चुनावमा वर्षमान पुन विजयी भएका थिए।








प्रतिक्रिया दिनुहोस्