दोलखा : दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु मतदानस्थलमा मतदान प्रक्रियामा तनाव उत्पन्न भएको छ। उम्मेदवारको एजेन्टका रूपमा बसेका व्यक्तिले मतदान कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले घटनाको पुष्टि गर्दै भने, “मतदान खटिएका कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो। अहिले केही नाराबाजी भइरहेको छ, तर स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी छ।”
मालु मतदानस्थलमा विवाद सुरु भएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीका अनुसार, एजेन्टहरू र मतदान कर्मचारीबीचको झगडाले स्थिति बिग्रन थालेपछि हवाई फायर गरी भीडलाई तितरबितर पारिएको हो। अहिले मतदान प्रक्रिया प्रभावित भएको छ, तर प्रहरी तथा निर्वाचन टोलीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेका छन्।
यो घटनाले दोलखालाई संवेदनशील निर्वाचन क्षेत्रका रूपमा चित्रित गरेको छ। यसअघिका निर्वाचनहरूमा पनि दोलखाका विभिन्न मतदानस्थलहरूमा झडप तथा हवाई फायरका घटनाहरू भएका थिए, जसले सुरक्षा चुनौतीलाई उजागर गरेको थियो।
देशभर मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। दोलखामा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने अपेक्षा बढेको छ। निर्वाचन आयोग तथा स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्