काठमाडौं, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन्।उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताएका छन् । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ।
यी दुबै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन्। अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए।संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए। उनले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए।
आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको,प्रशासनिक सुधार गरेको,संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उनले उल्लेख गरे। आफू र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए।उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गरे । भ्रष्टाचार अन्त्य,माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए।
ुहिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,प्रचण्डले भने,परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गर्दछु। प्रचण्डले मतदातासँग स्थायित्व,सुशासन र समृद्धिका लागि आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न अपील गरेका छन्। उनले जनताको मत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व र सुशासनतर्फ अघि बढाउन आवश्यक रहेको बताएका हुन्।सन्तुलित र स्वाभिमानी विदेश नीति,रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबीच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका लागि मत आवश्यक रहेको उनले बताएका छन्। युवालाई विदेशिन नपर्ने वातावरण, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखिने उनले उल्लेख उल्लेख गरेका छन्।
संयोजक प्रचण्डले ‘तारा’ चिन्हमा मत सामाजिक न्याय,समान अवसर र धनी–गरिबबीचको खाडल घटाउने संकल्पका लागि भएको बताए। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने,डिजिटल सुशासन र पारदर्शिता कायम गर्ने तथा सरकारी सेवा लाइनमा होइन,मोबाइलमार्फत् नागरिकसम्म पुर्याउने प्रतिबद्धता भिडियो सन्देशमा उनले व्यक्त गरेका छन्।उनले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आह्वान गर्दै मतलाई सुन्दर भविष्यको आधार बनाउन आग्रह गरे । साथै, भदौ २३ र २४ गते घटेका हिंसात्मक घटनालाई अस्वीकार्य भन्दै ती घटनामा संलग्नहरूलाई मतदानमार्फत जनताले दण्ड दिने विश्वास व्यक्त समेत व्यक्त गरेका छन्। फागुन २१ लाई ऐतिहासिक दिनका रूपमा स्मरणीय बनाउन मतदातालाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन्।








प्रतिक्रिया दिनुहोस्