इरानको होर्मोजगान प्रान्तमा रहेको एक बालिका विद्यालयमा गरिएको इजरायली आक्रमणमा ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ। दक्षिणी सहर मिनाबस्थित प्राथमिक विद्यालयमा भएको आक्रमणपछि मृतक संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक विवरणमा अल जजिराले पाँच जनाको मृत्यु भएको उल्लेख गरेको थियो। तर पछिल्लो अद्यावधिक अनुसार मृतक संख्या २४ पुगेको सोही माध्यमले पुष्टि गरेको छ। घाइतेहरूको संख्या पनि उच्च रहेको बताइएको छ, यद्यपि यकिन विवरण सार्वजनिक गरिएको छैन।
यसबीच, राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय स्रोतहरूले बताएका छन्। तेहरानस्थित सर्वोच्च नेता आयातुल्लाह अली खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई समेत निशाना बनाइएको दाबी गरिएको छ।
घटनापछि क्षेत्रीय तनाव झनै चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेका छन्। थप विवरण आउन बाँकी छ।








प्रतिक्रिया दिनुहोस्