काबुल/इस्लामाबाद । अफगानिस्तान र पाकिस्तानबीच तनाव चुलिँदै जाँदा बिहीबार राति सीमाक्षेत्रमा भीषण झडप भएको भएको छ। अफगान पक्षले कुनार प्रान्त आसपास पाकिस्तानतर्फ आक्रमण गरेको दाबी गरेको छ भने दुवै देशले एकअर्काविरुद्ध ठूलो क्षतिको आरोप लगाएका छन्।
अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फित्रतका अनुसार तालिबान लडाकुहरूले आक्रमणका क्रममा ५५ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन्। उक्त जानकारी अफगान सञ्चारमाध्यम टोलो न्युजले पनि प्रसारण गरेको छ।
अफगान सरकारले २३ पाकिस्तानी सैनिकको शव आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। साथै, पाकिस्तानी सेनाको एक मुख्यालय र १९ वटा चौकी कब्जा गरिएको बताइएको छ। फित्रतका अनुसार केही पाकिस्तानी सैनिकलाई जीवितै नियन्त्रणमा लिइएको छ भने दर्जनौँ हतियार, एउटा ट्याङ्क र एउटा हार्वेस्टर पनि कब्जा गरिएको छ।
यता पाकिस्तानी सञ्चारमाध्यमहरूले भने पाकिस्तान सरकारले जवाफी कारबाहीस्वरूप “अपरेसन गजब लिल हक” सुरु गरेको जनाएका छन्। पाकिस्तानी वायुसेनाले काबुल र नान्गारहार प्रान्तसहित विभिन्न सहरहरूमा हवाई हमला गरेको दाबी गरिएको छ।
पाकिस्तानी सरकारी स्रोतका अनुसार हालसम्म ७२ अफगान तालिबान लडाकु मारिएका छन् भने १२० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानले १६ वटा तालिबान चौकी ध्वस्त पारेको र सातवटा चौकी कब्जा गरेको दाबी गरेको छ।
यस घटनाले दुई देशबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ। सीमाक्षेत्रमा थप झडप हुन सक्ने आशंकाबीच दुवै पक्ष उच्च सतर्कतामा रहेका छन्। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गर्न सक्ने अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस्