काठमाडौं, माघ ११
कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका जिल्लामा दुवै दलबीच तालमेल कायम गर्ने समझदारी बनेको हो।
सहमति अनुसार सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्नेछ। यस्तै, रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ। हुम्ला र जुम्ला बाहेकका कर्णालीका सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने व्यवस्था गरिएको छ।
हुम्लामा भने एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन्। यस जिल्लामा कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा। दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी टासी ल्हान्जोम पनि चुनावी प्रतिस्पर्धामा छन्।
सम्बन्धित सहमति पत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्।
त्यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार बनेका छन्। जुम्लामा कांग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाकी विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतसहितका उम्मेदवारहरू चुनावी मैदानमा छन्।
कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला गरी १० जिल्ला रहेका छन्। एमाले–प्रलोपा तालमेलले कर्णालीको चुनावी समीकरण थप रोचक बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्