काठमाडौं,४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।दैलेख–२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
आफ्नो अभिव्यक्तिमा रिजालले पार्टीभित्र टिकट वितरणमा देखिएको प्रवृत्तिप्रति संकेत गर्दै ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो’ भनेका छन् ।
राजनीतिमा तीन दशकभन्दा बढी समय सक्रिय रहेको उल्लेख गर्दै रिजालले आफूले कहिल्यै पनि व्यक्तिगत लाभ, आर्थिक सौदाबाजी वा सत्ताका लागि सम्झौता नगरेको दाबी गरेका छन् ।लेखपढ, वैचारिक पैरवी, उच्च शिक्षा (पीएचडी अध्ययन) र देश–विदेशका मञ्चहरूमा सहभागितालाई नै आफ्नो राजनीतिक पूँजी ठानेको उनको भनाइ छ ।‘अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्ति कायरता हो,’ रिजालले लेखेका छन् ।यद्यपि, उनले पार्टीमा असहयोगको बाटो नअपनाउने स्पष्ट गर्दै पार्टी, जनता र देशका लागि निरन्तर मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । टिकट नपाए पनि कम्तीमा अर्को २९ वर्षसम्म यही क्षेत्रका जनतासँगै रहने उनको भनाइ छ ।एमाले नेता रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका थिए।








प्रतिक्रिया दिनुहोस्