काठमाडौं, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब साढे ५ बजेको हो ।
उनका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँएको थियो । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो । सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । सबै गुरुङ हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । जसमध्ये चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । चालक भने फरार छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको खड्काले बताए ।








प्रतिक्रिया दिनुहोस्