काठमाडौँ, ३० कात्तिक । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थिए। अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेको उनले बताए। उनका अनुसार यस अवधिमा सात वटा दल खारेज भएका छन् भने सात वटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको उनको भनाइ छ। उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए।भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो।
भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए।उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए।उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेकोसमेत बताए। उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहनेसमेत बताए।
शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए।








प्रतिक्रिया दिनुहोस्