काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एनआरएनए युकेका पूर्वअध्यक्ष पुनम गुरुङलाई सम्मान प्रदान गरेको छ ।
लक्ष्मीपूजाका अवसरमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच गुरुङलाई सम्मान प्रदान गरिएको हो ।
एनआरएनए आइसीसीका अध्यष डा. बद्री केसीले सम्मानपत्र प्रदान गरे । सन् २०१९–२०२१ एनआरएनए युकेको अध्यक्ष हुँदा गुरुङको नेतृत्वमा महत्वपूर्ण सामाजिक कार्य भएको भन्दै सो सम्मान प्रदान गरिएको हो । सम्मानपत्र एनआरएनए युकेका वर्तमान अध्यक्ष राजेन्द्र पुडासैनीले बाचन गरेका थिए ।
कोभिडका समयमा गुरुङको नेतृत्वमा सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ६० हजार पाउण्ड सहयोग गरेका थिए भने १६४ अक्सिजन कन्सनटेटर नेपालमा सहयोग गरेका थिए ।
कोभिडको महामारीले अक्सिजन कन्सनटेटरको हाहाकार भइरहेका बेला एनआरएनए युकेको सहयोगले नेपालमा धेरै राहत पुगेको एनआरएनए आइसीसीका अध्यक्ष केसीले बताए । विगतमा गरिएको कामलाई सम्झेर सम्मान गरेकोमा एनआरएनए आइसीसीलाई पूर्वअध्यक्ष गुरुङले धन्यवाद दिए ।
सो अवसरमा एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडा, रोजिना प्रधान, युरोप संयोजक प्रसुना कँडेल लगायत विभिन्न देशका अध्यक्षहरु, पूर्वअध्यक्षहरुका साथै प्रतिनिधिहरुको उपस्थिति थियो ।








प्रतिक्रिया दिनुहोस्