काठमाडौं, ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोका खोलेको भन्दै एमाले नेताहरूलाई यस अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सुझाव दिएका छन्।
जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको बेला बिहीबार शीतल निवासमा एमालेका शीर्ष नेताहरूसँग करिब दुई घण्टा उनले भेटघाट गरे। त्यसमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक दलहरूको भूमिकालाई अझ सबल बनाउन आग्रह गरेका हुन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरूले राष्ट्रपति निवास पुगेका थिए। उनीहरूले आन्दोलनपछिको राजनीतिक परिस्थिति, अन्तरिम सरकारको भूमिका र आगामी कोर्सबारे विस्तृत धारणा राखे । दलहरूलाई बेवास्ता गरेर सरकार अघि बढ्ने आशंका बढेको भन्दै उनीहरूले संवैधानिक सीमा भित्रैबाट राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव दिए।
‘संविधान र लोकतान्त्रिक गणतन्त्र यथावत् छन्। यस्तो अवस्थामा बनेको सरकारले ती आधारभूत मूल्यहरूलाई कमजोर पार्ने गरी अघि बढ्नु हुँदैन,’ स्रोतका अनुसार, उनीहरूले बताएका थिए, ‘राजनीतिक दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भयो भने त्यो लोकतन्त्रका लागि घातक हुनेछ।’
एमाले नेताहरूले अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरे पनि संवाद, समन्वय र विश्वास निर्माणमा ध्यान नदिएको गुनासो राष्ट्रपतिसमक्ष राखेका थिए। उनीहरूका अनुसार चुनाव सफल पार्न राजनीतिक दलहरूको सहमति र सक्रियता अपरिहार्य छ, तर सरकार त्यस दिशामा अघि बढ्ने संकेत देखिँदैन।
राष्ट्रपतिले राजनीतिक दलहरूको कमजोरीका कारण अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दलहरूलाई बेवास्ता गरेर लोकतन्त्र अघि बढाउन नसकिने सन्देश दिए। उनले घोषित मितिमा चुनाव गराउन एमालेको सहयोग अपरिहार्य हुने भन्दै दलहरूलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरे। एमाले नेताहरूले संविधान र लोकतन्त्र जोगाउन राष्ट्रपति पौडेलले संकटको बेला खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।








प्रतिक्रिया दिनुहोस्