नेपालको राजनीतिक संकट समाधानमा ‘डिस्कर्ड’ एपको भूमिका
काठमाडौँ २८ भदौ । नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलनले राजनीतिक संकट उत्पन्न गरेको थियो। यसैबिच, देशको अन्तरिम सरकारको नेतृत्व चयन गर्नका लागि एक लाखभन्दा बढी युवाले ‘डिस्कर्ड’ नामक च्याट एपमा भेला भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा चयन गरे।
‘द न्यूयोर्क टाइम्स’को एक रिपोर्टअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सिर्जना भएको राजनीतिक शून्यतालाई भर्नका लागि धेरै नेपाली युवाले गेमिङ समुदायमा लोकप्रिय रहेको ‘डिस्कर्ड’ प्लेटफर्मको प्रयोग गरेका थिए।
यस विषयमा २३ वर्षीय कन्टेन्ट क्रिएटर सिड घिमिरेले भनेका छन्, ‘अहिले नेपालको संसद् भनेको ‘डिस्कर्ड’ नै हो।’ यो डिस्कर्ड च्यानलमा हुने छलफलहरू राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चाको विषय बनेका थिए।
विभिन्न सरोकारवालाहरू, विशेषगरी जेनजी समूह, सेना प्रमुख र राष्ट्रपति रामचन्द्र पौडेलबिचको बैठक निष्कर्षविहीन भएपछि, जेनजी पुस्ताले अन्तरिम सरकारको प्रमुख चयन गर्न डिजिटल प्लेटफर्मलाई प्रयोग गर्ने निर्णय गर्यो।
एकल नेतामा सहमति हुन नसकेपछि, आयोजकहरूले डिस्कर्डमा लोकप्रिय भोटिङ गर्ने विकल्प रोजे। यसका लागि भोटरहरूलाई शुक्रबार दिउँसो १ बजेभन्दा अघि दर्ता गर्न भनिएको थियो। केवल ‘स्टेज १’ मा दर्ता भएका प्रदर्शनकारीहरूलाई मात्रै अनलाइन मतदानमा सहभागी हुन दिइएको थियो।
प्रधानमन्त्रीका लागि तीन जनाको नाम चर्चामा थियो: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङ। अनलाइन सर्वेक्षणको नतिजा आउँदा सुशीला कार्की स्पष्ट विजेताका रूपमा उदाइन्।
- पहिलो महिला प्रधानमन्त्रीका रूपमा शपथ
शुक्रबार राति सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ७३ वर्षीया कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण समारोहमा नेपालका प्रधानन्यायाधीश, वरिष्ठ सरकारी अधिकारी, सुरक्षा प्रमुखहरू र कूटनीतिक समुदायका सदस्यहरूको उपस्थिति थियो।

भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा भएको आन्दोलनका क्रममा एकै दिन एक दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि आन्दोलनकारीहरू प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेसँगै केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
ओलीको राजीनामा र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णयपछि पनि आन्दोलन रोकिएन। प्रदर्शनकारीहरूले संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सरकारी भवन, राजनीतिक दलका कार्यालय र वरिष्ठ नेताहरूको घरमा आगजनी तथा तोडफोड गरेका थिए।
- के हो डिस्कर्ड ?
डिस्कर्ड मूलतः गेमिङ समुदायका लागि बनाइएको एउटा सामाजिक प्लेटफर्म हो। यसलाई सन् २०१५ मा जेसन सिट्रोन र स्टानिसलाभ विश्नेभस्कीले सुरु गरेका थिए। यो प्लेटफर्मले प्रयोगकर्ताहरूलाई सर्भर र च्यानलमार्फत टेक्स्ट, भ्वाइस र भिडियो च्याट गर्न दिन्छ।
परम्परागत सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै फेसबुक वा इन्स्टाग्रामभन्दा फरक, डिस्कर्ड सर्भरहरूमा केन्द्रित हुन्छ। सर्भरहरू यस्ता सामुदायिक क्षेत्र हुन्, जहाँ सदस्यहरूले कुराकानी गर्न, फाइलहरू सेयर गर्न र सँगै लाइभ पनि गर्न सक्छन्।
प्रत्येक सर्भरमा ५ लाख सदस्यहरू हुन सक्छन्, जसमध्ये २ लाख ५० हजार सदस्यहरू एकैपटक सक्रिय रहन सक्छन्। प्रत्येक सर्भरभित्र विभिन्न विषयका लागि छुट्टाछुट्टै च्यानल (च्यानलहरू टेक्स्ट, अडियो वा भिडियोका लागि हुन सक्छन्) बनाउन सकिन्छ। प्रयोगकर्ताहरूले वास्तविक समयमा (रियल टाइम) मा मिम सेयर गर्न, गेम स्ट्रिम गर्न वा विशेष रुचिहरूमाथि छलफल गर्न सक्छन्।
डिस्कर्ड कसरी प्रयोग गर्ने ?
- यो एपमा नयाँ प्रयोगकर्ताहरूका लागि, सुरु गर्नका लागि केही सरल उपायहरू दिइएका छन्:
- गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट डिस्कर्ड डाउनलोड गर्नुहोस्।
- साइन अप गर्नुहोस् र आफ्नो खाता बनाउनुहोस्।
- आफ्नो रुचिअनुसार कुनै सर्भरमा सामेल हुनुहोस् वा आफैं सर्भर बनाउनुहोस्।
- टेक्स्ट, अडियो वा भिडियोमार्फत कुराकानी गर्न सर्भरभित्रका च्यानलहरू अन्वेषण गर्नुहोस्।








प्रतिक्रिया दिनुहोस्