ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक प्रक्रियाबाटै ‘निकास’को पक्षमा मुख्य दलहरु एकमत


ABC News

काठमाडौँ २६ भदौ। जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति विकसित भएको छ । नेपाल र नेपाली जनताको भाग्य तथा भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्रको आवश्यकताबारे बहस र छलफल भइरहेका बेला मुख्य दलका नेताहरुले सुरक्षा घेराभित्र र केहीले बाहिरबाट वक्तव्य जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

संविधान र संवैधानिक निकायका प्रमुखहरू राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश लगायतका जिम्मेवार निकाय अझै अन्योलमा छन् । एक हिसाबले उनीहरू अझै भूमिगत अवस्थामा छन्, तर प्रमुख राजनीतिक दल र तिनका नेताहरू भने विस्तारै संविधान र व्यवस्थाको पक्षमा खुल्न थालेका छन् ।

नेपालको परिवर्तनमा लामो योगदान र इतिहास बोकेका दलका केही नेतामा देखिएको चरम व्यक्तिवादी प्रवृतिका कारण मुलुकले यति धेरै क्षति बेहोरेको अवस्थामा उनीहरूले गल्ती महसुस गर्दै प्राप्त उपलव्धि र संवैधानिक प्रक्रियाबाटै आफूलाई सच्याएर अघि बढ्ने संकेत दिएको जस्तो देखिन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधान र संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा मत प्रकट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्नसक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रमात्रै हो’, प्रचण्डले भनेका छन्, ‘जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरूले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ ।’

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो ठहर छ–कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरूले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रूपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकाससमेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ ।’

नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको बताएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्नेमा जोड दिइएको छ । ‘यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ’, एमालेले भनेको छ ।

एमालेले यस्तो विषम परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेश सभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ ।

‘स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ’, एमालेले भनेको छ ।

असामान्य स्थितिको लाभ उठाउँदै अझै पनि देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेको भन्दै सो पार्टीले यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पतिमाथि भएको क्षतिप्रति एमालेले दुःख प्रकट गरेको छ ।

बहिगर्मित प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीको ठेगानाबाट जेनजीका नाममा पत्र भन्दै पुरानै कथित राष्ट्रवादी रटान दोहराउने बाहके बढी केही भनेका छ्रैनन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विधि विहीनताले थप अराजकता निम्त्याउने भन्दै समस्या सम्बोधनका लागि राष्ट्रपतिले पहल गर्नुपर्ने बताएका छन् । उनीहरूले त्यसका लागि वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस् भनेर आग्रह गरेका छन् ।

‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ’, महामन्त्रीद्वयले भनेका छन् ।

उनीहरूले जेनजी पुस्ताको भावना बमोजिम वार्ता निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले देशको पछिल्लो अवस्थाबारे विश्लेषणकै क्रममा रहे पनि विधिको शासन र कानुनी सर्वोच्चता तथा मानवअधिकारप्रति प्रतिवद्धता जनाएको छ । पार्टी बैठकपछि कार्यवाहक सभापछि डोलप्रसाद अर्यालले वक्तव्य जारी गर्दै संवैधानिक प्रक्रियाबाटै र संविधानभित्रबाट समाधान खोजिनु पर्ने धारणा सार्वजनिक गरेको छ। ।

‘तर, नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ छ’, रास्वपाले भनेको छ ।

यो पार्टीले परिवर्तनको यो संवेदनशील घडीमा सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु रहेकोमा रास्वपाले जोड दिएको छ । ‘जनतामाझ आशाको सञ्चार गर्न सकिएन भने नयाँ नेपाल निर्माण फेरि पनि आकांक्षामै सीमित हुनेछ । अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन सकिएन भने परिवर्तनको चाहना दिगो रुपमा संस्थागत हुन सक्दैन’, रास्वपाले सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै भनेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि वक्तव्य जारी गर्दै संविधानभित्रबाट नै समाधान खोज्नु पर्ने बताएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वक्तव्य जारी गर्दै संविधानभित्र र संवैधानिक प्रक्रियाबाट नै समाधान खोजिनु पर्ने धारण सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com