राष्ट्रपति ट्रम्पको भारत–पाकिस्तान युद्ध ‘समाधान’ गरेको बारम्बारको दाबीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आक्रोशित बनायो। यो केवल सुरुवात थियो।
अगस्त ३०, २०२५: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति ट्रम्पसँग धैर्य गुमाउँदै थिए। ट्रम्पले बारम्बार, सार्वजनिक रूपमा, उत्साहपूर्वक भनिरहेका थिए कि उनले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व ूसमाधानू गरिदिएका थिए, जुन ७५ वर्षभन्दा पुरानो विवाद, ट्रम्पले जस्तो देखाएका थिए, त्योभन्दा धेरै गहिरो र जटिल छ।
जुन १७ मा भएको फोन कुराकानीमा, ट्रम्पले फेरि यो कुरा उठाए, सैन्य तनावलाई अन्त्य गरेकोमा आफूलाई गर्व रेहेका बताए । उनले पाकिस्तानले उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने उल्लेख गरे, जुन पुरस्कारका लागि उनले खुल्लमखुल्ला अभियान चलाएका थिए। दुई नेताबीच कुराकानीको जानकारी भएका व्यक्तिहरूका अनुसार, ट्रम्पको सूक्ष्म सङ्केत के थियो भने मोदीले पनि त्यस्तै गर्नुपर्छ।
भारतीय नेता आक्रोशि भए । उनले ट्रम्पलाई भनेको कुरा अनुसार अमेरिकाको संलग्नताको हालको युद्धविरामसँग कुनै सम्बन्ध छैन। यो भारत र पाकिस्तानबीच प्रत्यक्ष रूपमा समाधान भएको थियो।
ट्रम्पले मोदीका टिप्पणीहरूलाई धेरै हदसम्म बेवास्ता गरे, तर यो असहमति — र नोबेलमा संलग्न हुन मोदीको अस्वीकार — ले दुई नेताहरूबीचको सम्बन्ध बिगार्नमा ठूलो भूमिका खेलेको छ, जब कि यी दुई नेताबीच एक समय निकट सम्बन्ध ट्रम्पको पहिलो कार्यकालदेखि नै थियो।
यो विवाद भारत र संयुक्त राज्य अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण व्यापार वार्ताको पृष्ठभूमिमा भएको छ, र यसका परिणामले भारतलाई बेइजिङ र मस्कोमा अमेरिकी विरोधीहरूसँग नजिक लैजान सक्छ। मोदी यो सप्ताहान्तमा चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्।
यो लेख वासिङ्टन र नयाँ दिल्लीमा एक दर्जनभन्दा बढी व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ, जसमध्ये धेरैजसोले गोप्य रूपमा बोलेका छन् किनभने यो सम्बन्धले दुवै पक्षका लागि दूरगामी प्रभाव पार्छ, ट्रम्पले रणनीतिक सम्बन्धलाई कमजोर बनाएर र भारतले आफ्नो अर्थतन्त्रलाई कायम राख्न खोज्दा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारलाई टाढा बनाउन पुगेका छन् ।

अहमदाबाद, भारतमा २०२० मा ट्रम्पको भ्रमणको समयमा राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरहरूबाट गुज्रदै यात्रुहरू। द न्यूयोर्क टाइम्स
जून महिनाको फोन कुराकानीको केही हप्तापछि, र व्यापार वार्ताहरू लम्बिँदै गर्दा , ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेर भारतलाई चकित पारिदिए। र बुधबार, उनले रूसी तेल खरिद गरेकोमा भारतमाथि थप २५ प्रतिशत कर लगाएपछि अब कुल ५० प्रतिशत भएको छ ।
मोदी, जसले एक समय ट्रम्पलाई ‘सच्चा मित्र’ भन्थे, अब औपचारिक रूपमा टाढिएका छन्। मोदीलाई यो वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने बताए पनि, ट्रम्पको अब शरद ऋतुमा भ्रमण गर्ने योजना छैन, राष्ट्रपतिको भ्रमण तालिकाको जानकारी भएका व्यक्तिहरूका अनुसार।
भारतमा, ट्रम्पलाई अब केही क्षेत्रमा राष्ट्रिय अपमानको स्रोतको रूपमा हेरिन्छ। गत हप्ता, महाराष्ट्र राज्यमा एक पर्वमा ट्रम्पको विशाल प्रतिमा प्रदर्शन गरियो, जसमा उनलाई विश्वासघाती घोषणा गर्ने चिन्हहरू थिए। संयुक्त राज्य अमेरिकाबाट आएका प्रहारहरू यति तीव्र थिए कि एक भारतीय अधिकारीले तिनलाई ‘गुण्डागर्दी’ को रूपमा वर्णन टिप्पणी गरेः स्पष्ट दादागिरी, वा ठगी।
दुई नेताहरूले जुन १७ को फोन कुराकानीपछि कुरा गरेका छैनन्।
यसको मूलमा, ट्रम्प र मोदीको कथा दुई आत्मविश्वासी, लोकप्रियतावादी नेताहरूको बारेमा केन्द्रित छ। उनीहरुमा ठूलो अहंकार र अधिनायकवादी प्रवृत्तिहरू छन्, र ती वफादारीहरूको जालले दुवै नेताहरूलाई सत्तामा राख्न मद्दत गर्छ। तर यो एक अमेरिकी राष्ट्रपतिको कथा पनि हो जसको नजर नोबेल पुरस्कारमा छ, र भारतीय राजनीतिको अटल तेस्रो रेलमा ठोक्किएको छः पाकिस्तानसँगको द्वन्द्व।
राजनीतिक असम्भाव्यता
भारतमा कसैले पनि मोदी यो अवस्थामा पुग्ने अपेक्षा गरेका थिएनन्।
उनले आफ्नो तेस्रो कार्यकाल विश्व खेलाडीको रूपमा आफू र आफ्नो देशलाई रूपान्तरण गर्ने वाचामा जितेका थिए। र यदि ट्रम्प व्यक्तिगत सम्बन्धहरूमा बढी ध्यान केन्द्रित गर्ने र भू–राजनीतिक रणनीतिमा कम ध्यान दिने भनेर चिनिएका थिए भने, भारतीयहरूले यो गतिशीलता आफ्नो पक्षमा काम गर्ने सोचेका थिए।
ट्रम्पको पहिलो कार्यकालमा, उनले टेक्सासमा भारतीय डायस्पोराको ठूलो ‘हाउडी मोदी!‘ र्यालीमा भाग लिएका थिए। केही महिनापछि, अमेरिकी राष्ट्रपति मोदीको गृह राज्य गुजरातमा ‘नमस्ते ट्रम्प!’ ब्रान्डेड कार्यक्रमका लागि भ्रमण गरेका थिए।
मोदीले उनलाई विमानस्थलमा अङ्गालो हालेर स्वागत गरे र त्यसपछि संगीत, नर्तकहरू र एक लाखभन्दा बढी हर्षोल्लास गर्ने सहभागीहरूसँग ट्रम्पको सम्मान गरे।

ट्रम्प र मोदी २०१९ मा ह्युस्टनमा ‘हाउडी मोदी’ कार्यक्रममा हात समात्दै। डग मिल्स–द न्यूयोर्क टाइम्स

२०२० मा अहमदाबादमा दुवै नेताहरूसँगको र्यालीमा भीड उभिएको। अतुल लोके–द न्यूयोर्क टाइम्स
ट्रम्पको दोस्रो कार्यकालमा, विदेशी नेताहरूले उनको अहंकारलाई प्रशंसा र उपहारहरूले सम्हाल्दै सफलता पाएका छन्। बेलायती प्रधानमन्त्रीले ह्वाइट हाउसमा राजा चार्ल्सको पत्र लिएर आए। फिनिस राष्ट्रपतिले ट्रम्पसँग गल्फ कोर्समा साझेदारी गरे। यहाँसम्म कि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जसलाई ट्रम्पले एकपटक सार्वजनिक रूपमा गाली गरेका थिए, उनी ह्वाइट हाउसमा देखा परे र क्यामेराको अगाडि ट्रम्पलाई धन्यवाद दिए।
तर ट्रम्पले मोदीबाट जे चाहन्छन्, त्यो राजनीतिक रूपमा असम्भव छ।
यदि मोदीलाई अमेरिकी दबाबमा कमजोर राष्ट्रसँग युद्धविराम स्वीकार गरेको देखियो भने, घरेलु लागत ठूलो हुनेछ। मोदीको बलियो छवि धेरै हदसम्म उनको पाकिस्तानप्रतिको कठोरतामा निर्भर छ। ट्रम्पको भूमिका स्वीकार गर्नु, उनलाई नोबेलका लागि मनोनयन गर्नु त पराजयको रूपमा देखिनेछ। हालै ट्रम्पको कृपामा परेको पाकिस्तानले उनलाई पुरस्कारका लागि मनोनयन गर्ने निर्णय चाँडै लिएको थियो।
संयुक्त राज्य अमेरिकाले भारत र पाकिस्तानबीचको पछिल्लो हिंसाको समाधानमा कति प्रभाव पारेको छ भन्ने कुरा ठ्याक्कै मापन गर्न गाह्रो छ। ट्रम्पले दाबी गरेअनुसार उनले व्यापारलाई दबाबको रूपमा प्रयोग गरेर दुवै पक्षलाई लडाइँ रोक्न बाध्य पारे। यी प्रलोभनहरू र चेतावनीहरू पछि, उनले भने, ‘अचानक उनीहरूले भने, ‘हामी लडाइँ रोक्छौं।’
भारतले त्यसलाई अस्वीकार गर्छ।
वासिङ्टनले दुवै पक्षमा धेरै प्रभाव राख्छ, र ऐतिहासिक रूपमा, अमेरिकी नेताहरूको सन्देशले तनाव कम गर्न मद्दत गरेको छ। तर तथ्य को हो भने मोदीले ट्रम्पको कुनै भूमिकालाई सूक्ष्म रूपमा पनि स्वीकार गर्न सकेनन्, दाउलाई देखाउँदा, यो मुद्दा उनको लागि कति विस्फोटक छ भन्ने देखिन्छ । विश्लेषकहरूका अनुसार भारतीय प्रतिक्रियाको चरम कठोरता ले के पनि देखाउँछ भने विगत एक दशकमा शक्ति कसरी मोदीको बलियो छविलाई जुनसुकै मूल्यमा संरक्षण गर्नको लागि केन्द्रित भएको छ।
‘मोदीले अमेरिकी दबाबमा युद्धविराम स्वीकार गर्नेछन् वा उनलाई मध्यस्थता आवश्यक थियो वा खोजेका थिए भन्ने विचार — यो उनको व्यक्तित्वको विपरीत मात्र होइन’ ब्रूकिंग्स इन्स्टिच्युटकी वरिष्ठ फेलो तन्वी मदनले भनिन्। ‘यो भारतीय कूटनीतिक अभ्यासको विपरीत पनि रहेको छ। मोदीले अमेरिकी राष्ट्रपतिहरूसँगको आफ्नो सम्बन्धलाई रणनीतिक र राजनीतिक सम्पत्तिको रूपमा विक्रि गर्दै आएका थिए — र अब विपक्षले ट्रम्पसँग उनको मित्रतालाई दायित्वको रूपमा चित्रण गरिरहेको छ।’

मोदीले यो महिना नयाँ दिल्लीमा सम्मान गार्डको निरीक्षण गर्दै। यदि उनलाई अमेरिकी दबाबमा पाकिस्तानसँग युद्धविराम स्वीकार गरेको देखाइयो भने, घरेलु राजनीतिक लागत ठूलो हुनेछ। मनी शर्मारएजेन्स फ्रान्स–प्रेस — गेटी इमेजेज
जून महिनाको ट्रम्पसँगको कुराकानीपछि, भारतीय अधिकारीहरूले एक वक्तव्य जारी गरेर के भनेका थिए भने मोदीले ‘दृढतापूर्वक भनेका थिए कि भारतले मध्यस्थता स्वीकार गर्दैन र कहिल्यै स्वीकार गर्नेछैन’ र ‘राष्ट्रपति ट्रम्पले ध्यानपूर्वक सुने’र ‘भारतको आतङ्कवादविरुद्धको लडाइँप्रति आफ्नो समर्थन व्यक्त गरे।’
ह्वाइट हाउसले यो कुराकानीलाई स्वीकार गरेन, न त ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खाताहरूमा यसबारे पोस्ट गरे। र तैपनि, मोदीसँग कुरा गरेको चार दिनपछि, ट्रम्पले कङ्गो र रवान्डाबीचको शान्ति सम्झौता घोषणा गर्दा फेरि यो मुद्दा उठाए।
‘मलाई यसका लागि नोबेल शान्ति पुरस्कार प्राप्त हुने छैन, मलाई भारत र पाकिस्तानबीचको युद्ध रोकेकोमा नोबेल शान्ति पुरस्कार प्राप्त हुने छैन,’ ट्रम्पले पोस्ट गरे। ‘होइन, म जे गरे पनि मलाई नोबेल शान्ति पुरस्कार प्राप्त हुने छैन।’
‘यो रूसभन्दा धेरैको बारेमा छ’
ट्रम्प भन्छन्ः भारतमाथिको कर रूसी तेल खरिद गरेको र भारतीय बजारको संरक्षणवादी प्रकृतिको लागि सजाय हो, जुन ट्रम्प र अन्य अमेरिकी राष्ट्रपतिहरूको लागि लामो समयदेखिको गुनासो हो।
ह्वाइट हाउसले जोड दिए अनुसार दुई नेताहरूको ‘सम्मानजनक सम्बन्ध’छ र ‘नजिकको सम्पर्कमा रहन्छन्,’ ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले एक वक्तव्यमा भनिन्।
‘राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्वमा शान्ति ल्याउन सफल भए,’ उनले भनिन्, भारतले स्पष्ट रूपमा अस्वीकार गरेको दाबीलाई दोहोर्याउँदै।
तर धेरै अधिकारीहरू र पर्यवेक्षकहरूका लागि, विशेष गरी भारतमाथिको ठूलो सजायहरू व्यापार घाटा कम गर्न वा पुटिनको युद्धको लागि कोष कटौती गर्नको लागि कुनै सुसंगत प्रयासभन्दा पनि पङ्क्तिमा नआएको सजायको रूपमा देखिन्छ। उनीहरूले औंल्याए अनुसार रूसी कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता चीनलाई छुट दिइएको छ।
‘यदि यो रूसलाई निचोड्ने नीतिमा वास्तविक परिवर्तन थियो भने, ट्रम्पले रूसी हाइड्रोकार्बन किन्ने देशहरूमा माध्यमिक प्रतिबन्धहरू लगाउने कानूनको पछाडि आफ्नो वजन राख्न सक्थे,’ सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजका भारत अध्यक्ष रिचर्ड एम. रोसोले भने। ‘भारतलाई विशेष रूपमा निशाना बनाएको तथ्यले यो रूसभन्दा धेरैको बारेमा छ भनेर देखाउँछ,’ उनले थपे।
भारत अब ब्राजीलसँग एक्लै छ, जसको नेतृत्व ट्रम्पलाई प्रत्यक्ष रूपमा रिस उठाउने राष्ट्रपतिले गर्छन्, ५० प्रतिशत करको अधीनमा, जुन अन्य कुनै पनि देशभन्दा उच्च छ। (पाकिस्तान १९ प्रतिशतमा आयो।)
अर्को तनावको बिन्दु ट्रम्पको आधारभूत समूहमा आप्रवासी विरोधी भावनाहरूको शक्ति भएको छ। भारतीय अधिकारीहरूले सुरुमा विश्वास गरेका थिए कि उनीहरूले अमेरिकी दक्षिणपन्थी आन्दोलनसँग साझा आधार पाउन सक्छन्, तर एच–१बी भिसाहरूमाथिको ट्रम्पका समर्थकहरूबीचको फाटोले उनीहरूलाई चकित बनायो, जसमा धेरै ध्यान भारतीयहरूतर्फ निर्देशित थियो, जो यस्ता भिसाहरूको सबैभन्दा ठूलो धारक हुन्।
भारतीय विद्यार्थीहरू पनि संयुक्त राज्य अमेरिकामा प्रत्येक चार विदेशी विद्यार्थीहरूमध्ये एक हुन्छन्, त्यसैले ट्रम्पको विद्यार्थी भिसाहरु मा कडाइले भारतलाई आश्चर्यमा पारेको छ।
ट्रम्पका शीर्ष सल्लाहकार स्टीफन मिलरले भारतबाट आएका अवैध आप्रवासीहरूको ठूलो संख्याको बारेमा राष्ट्रपतिसँग बारम्बार गुनासो गरेका छन्, जो ट्रम्पको अवैध आप्रवासनमाथिको कडाइको हिस्साको रूपमा पक्राउ परेका र निर्वासित भएका छन्। ती निर्वासनहरूको विधि र समयले मोदीलाई टाउको दुखाइको विषय बनायो र यसले के स्पष्ट गर्यो भने ट्रम्प भारतीय नेताले सामना गरिरहेका राजनीतिक वास्तविकताहरूप्रति संवेदनशील रहेका छैनन्।

फेब्रुअरीमा अमृत्सरमा भारतीय निर्वासितहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अवतरण गर्दै। अदनान अबिदी–रोयटर्स
फेब्रुअरीमा हतकडी र साङ्लोमा बाँधिएका निर्वासितहरूको विमानभार भारतमा आइपुग्यो, जसले मोदी वासिङ्टन भ्रमणमा जाँदै गर्दा ठूलो हलचल मच्चायो।
तर त्यो महिनाको मैत्रीपूर्ण पत्रकार सम्मेलनमा, दुवै पक्षले अझै अगाडि बढ्ने बाटो फेला पार्न सक्ने संकेतहरू थिए, भारतले ट्रम्पको व्यापार घाटाको गुनासोलाई शान्त पार्न अरबौं डलरको अमेरिकी तेल र ग्यास किन्ने सहमति गरेको थियो ।
‘हामी घाटालाई सजिलैसँग पूरा गर्न सक्छौं,’ ट्रम्पले भने, मोदी उनको छेउमा उभिएएका थिए ।
त्यसपछि, मे मा, दशकौंको सबैभन्दा खराब लडाइँ भारत र पाकिस्तानबीच सुरु भयो।
द्वन्द्व कश्मीरको भारतीय भूमिमा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएपछि सुरु भयो, जुन दुई राष्ट्रहरूबीचको विवादित क्षेत्र हो, जब उपराष्ट्रपति जेडी भान्स र उनको परिवार भारत भ्रमणमा थिए। ट्रम्पले मोदीलाई समवेदना व्यक्त गर्न फोन गरे।
लडाइँ चलिरहँदा, दुवै पक्षले चार दिनसम्म ड्रोन र मिसाइलहरू प्रहार गरे, ट्रम्प प्रशासनले कूटनीतिक समाधानका लागि आफ्नो वजन राख्न कदम चाल्यो, उपराष्ट्रपति र विदेशमन्त्रीले दुवै पक्षलाई फोन गरे।
लडाइँको चौथो दिनको साँझमा, नयाँ दिल्लीमा पत्रकारहरूलाई सशर्त युद्धविराममा सहमति भएको अफवाहसहित पत्रकार सम्मेलनका लागि बोलाइयो। तर भारतका विदेश सचिव विक्रम मिश्रीले घोषणा गर्न पोडियममा उभिनुअघि, ट्रम्पले ट्रुथ सोशलमा ‘पूर्ण र तत्काल युद्धविराम’ को घोषणा गरेर उनलाई छायामा पारिदिए ।
केही मिनेटपछि, विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले ‘तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको’ घोषणा गरे।
विशेष गरी यो वक्तव्य भारतीयहरूका लागि रिस उठाउने खालको थियो किनभने दशकौंदेखि भारतको नीति के छ भने पाकिस्तानको मुद्दा — विशेष गरी कश्मीरसँग सम्बन्धित — दुई देशले एक्लै सम्हाल्ने विषय हो, तेस्रो पक्षको मध्यस्थताबिना नै ।

मे मा भारत र पाकिस्तानबीचको द्वन्द्वको समयमा कश्मीरमा आफ्नो घरमा भएको क्षतिलाई हेर्दै एक महिला। अतुल लोके–द न्यूयोर्क टाइम्स

मे मा कश्मीर क्षेत्रमा लडाइँको क्रममा मारिएको भारतीय सीमा सुरक्षा सैनिकको अन्त्येष्टि। अतुल लोके–द न्यूयोर्क टाइम्स
कोठामा रहेका भारतीय अधिकारीहरूको अनुहारमा झट्का र प्रष्टै देखिन्थ्यो । मिश्रीले पोडियममा उभिएर आफ्नो वक्तव्य पढे, ट्रम्पको दाबी वा कुनै बाहिरी भूमिकाको उल्लेख नगरीकन गए। जब पत्रकारहरूले अन्य अधिकारीहरूलाई घेरेर ट्रम्पको घोषणाबारे सोधे, एक अधिकारीले प्रतिवाद गरेः ‘के तपाईं मलाई विश्वास गर्नुहुन्छ कि ट्रम्पलाई ?’
वासिङ्टनमा अस्वीकार गरिएको निमन्त्रणा
जूनमा ट्रम्प र मोदी फोनमा कुरा गर्दा, सम्बन्ध सुधार्ने र चलिरहेको व्यापार वार्ताहरूमा पुनः ध्यान केन्द्रित गर्ने अवसर हुन सक्थ्यो।
तर त्यो भएन।
यो कुराकानी, ३५ मिनेटसम्म चलेको थियो, ट्रम्प क्यानडामा भएको जी–७ औद्योगिक राष्ट्रहरूको बैठकबाट चाँडै फर्किएर वासिङ्टन फर्कंदा एयर फोर्स वनमा भएको थियो, जसमा मोदी पनि सहभागी थिए।
मोदीले ट्रम्पको वासिङ्टनमा रोकिन निमन्त्रणा अस्वीकार गरे। भारतीय अधिकारीहरू ट्रम्पले आफ्नो नेतलाई पाकिस्तानको सेना प्रमुखसँग हात मिलाउन बाध्य पार्न खोज्न सक्नेमा आक्रोशित थिए, जसलाई त्यही समयमा ह्वाइट हाउसमा दिउँसोको खानाका लागि निमन्त्रणा गरिएको थियो। यसबारेमा एक वरिष्ठ भारतीय अधिकारीले भने अनुसार, ट्रम्पलाई यो मुद्दाको जटिलता वा यसको संवेदनशीलता र इतिहासको ख्याल नगरेको अर्को स्पष्ट संकेत थियो।
पछि, आंशिक व्यापार सम्झौता अन्तिम रूप दिन अर्को कुराकानीको प्रयासबारे कुरा भयो। तर दुई नेताहरूबीचको विश्वास कमजोर हुँदै जाँदा, भारतीयहरूले मोदीलाई ट्रम्पसँग फोनमा कुरा गर्न दिन सशंकित थिए। भारतीय अधिकारीहरू चिन्तित के मा थिए भने ट्रम्पले कुराकानीमा जे सहमति भए पनि ट्रुथ सोशलमा जे मन लाग्यो त्यही पोस्ट गर्नेछन्, एक वरिष्ठ भारतीय अधिकारीले बताए।
ट्रम्प, कर वार्ताबाट निराश, दुई व्यक्तिहरूका अनुसार जसलाई त्यस छलफलको जानकारी थियो र उनलाई सार्वजनिक रूपमा बोल्न अनुमति थिएन, उनले भने अनुसार ट्रम्पले मोदीसँग धेरै पटक सम्पर्क गर्न खोजे।
मोदीले ती अनुरोधहरूको जवाफ दिएनन्, उनीहरूले जानकारी दिए ।
ह्वाइट हाउसकी प्रवक्ता केलीले ट्रम्पले सम्पर्क गरेको कुरालाई अस्वीकार गरिन्।
बुधबार थप २५ प्रतिशत कर लागू हुनुअघिको अन्तिम समयमा, ट्रम्पले आफ्ना नजिकका सल्लाहकार सर्जियो गोरलाई भारतका लागि राजदूतको रूपमा मनोनयन गरेको घोषणा गरे, क्षेत्रको लागि विशेष दूतको अतिरिक्त जिम्मेवारीसहित। (भारतीय अधिकारीहरू यो मनोनयनलाई कसरी बुझ्ने भन्नेमा विभाजित थिए — गोर ट्रम्पसँग नजिक थिए, हो, तर ‘क्षेत्रीय’ दूतको पदले भारतलाई पाकिस्तानसँग जोड्न खोजेकोबाट उनीहरू अपमानित भएको महसुस गरेका छन्।)
अन्तिम समयअघि, संयुक्त राज्य र भारतका अधिकारीहरूले व्यापारदेखि रक्षा सहयोगसम्मका विभिन्न मुद्दामा भर्चुअल बैठक गरे।
तर थप करहरू घोषणा गरिएअनुसार लागू भएका छन्, र ट्रम्पका सल्लाहकारहरूले भारतविरुद्ध पुरानै रटान जारी राखेका छन्। एक जनाले भारतको व्यापार वार्ता दृष्टिकोणलाई ‘घमण्डी’ भनेका छने भने अर्कोले युक्रेनको द्वन्द्वलाई ‘मोदीको युद्ध’ भन्ने टिप्पणी गरेका छन् ।
अब, मोदीले, कम्तीमा सार्वजनिक रूपमा, व्यापार वार्ताको कुराबाट अगाडि बढेका छन्। बरु, उनले ‘आत्मनिर्भरता’ को कुरा गरिरहेका छन् र आफ्नो घरेलु आधारलाई खेलिरहँदा आफ्नो दशक पुरानो ‘मेक इन इन्डिया’ अभियानलाई पुनर्जनन गरिरहेका छन् ।
र यो सप्ताहान्तको चीन भ्रमणमा — सात वर्षमा मोदीको पहिलो — उनले बेइजिङ र मस्कोसँग बलियो र विस्तारित सम्बन्धका लागि ग्रहणशील दर्शक पाउने अपेक्षा गरिएको छ।
रिपोर्टिंगः मुजिब मशाल द टाइम्सको दक्षिण एसिया ब्यूरो प्रमुख हुन्, उनले भारत र यसको वरपरको विविध क्षेत्र, जस्तै बंगलादेश, श्रीलंका, नेपाल र भुटानको कभरेजको नेतृत्व गर्छन्।
टायलर पेजर द टाइम्सको ह्वाइट हाउस संवाददाता हुन्, उनले राष्ट्रपति ट्रम्प र उनको प्रशासनलाई कभर गर्छन्।
अनुप्रीता दासले द टाइम्सको लागि भारत र दक्षिण एसियालाई कभर गर्छिन्। उनी नयाँ दिल्लीमा आधारित छिन्।








प्रतिक्रिया दिनुहोस्