काठमाडौँ – मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।
भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराधअन्तर्गत कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
उक्त गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौँ, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ।
उनले भने, ‘गत साउनको २० गते ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेर यो मुद्दा सुरुवात गरेका थियौँ र त्यही सिलसिलामा ५ जना मिर्गौला पीडितहरुले हामी कहाँ जाहेरी दिइसक्नुभएको छ। यो समूह कहाँबाट परिचालित छ भनेर बुझ्दाखेरी भारतको दिल्लीमा नेपालीको अंग झिक्ने र त्यहीँबाट अंगको कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौँ। त्यसपछि हामी अपरेशन शिल्ड भनेर एउटा गैरकानूनी अंग प्रत्यारोपण अथवा गैरकानूनी अंग झिक्नेहरुको जीवन रक्षा भनेर त्यसको अपरेशन अघि बढायौँ।’
गिरोहलाई संगठित अपरोध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ। ऐनअन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए।








प्रतिक्रिया दिनुहोस्